भोजपुरको टक्सार विमानस्थलमा तीन महिनापछि उडान पुनः सुरु
भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा तीन महिनापछि पुनः उडान सञ्चालनमा आएको छ। गत पुस महिनादेखि बन्द रहेको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारदेखि नियमित उडान भर्न थालेको छ।
नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काका अनुसार अब भोजपुर विमानस्थलमा नयाँ उडान तालिका लागू गरिएको छ। विसं २०३५ देखि सञ्चालनमा रहेको सो विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आएको छ।
पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको कारण अन्य जहाजहरूले यहाँ उडान भर्ने गरेका छैनन्। विमानस्थल बन्द हुँदा विशेषगरी जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र अन्य यात्रुहरूलाई ठूलो कठिनाइ भएको थियो।
हाल निगमसँग दुईवटा साना विमान रहेकोमा एक विमान मर्मतमा छ। मर्मत कार्य सम्पन्न भएपछि उडान थप व्यवस्थित हुने निगमले जनाएको छ। अब नियमित उडान सुरु भएसँगै भोजपुरका स्थानीयवासीलाई लामो समयको असहज अवस्थाबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ।