+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लागेपछि ४ को मृत्यु २ घाइते

बाटिका अनलाइन
२०८२ बैशाख ८, सोमबार

ताप्लेजुङ, वैशाख ८।
ताप्लेजुङको पाथीभरा जाँदै गरेको बोलेरो जिपमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट धार्मिक तीर्थस्थल पाथीभरा दर्शनका लागि यात्रु बोकेर गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो जिप आइतबार बिहान फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोक नजिकै दुर्घटनामा परेको हो। जिप सडक किनारमा रहेको बिजुलीको पोलबाट झुण्डिएको तारमा अल्झिएपछि आगलागी भएको बताइएको छ।

घटनास्थलमै चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि तत्काल उद्दार गरी अस्पताल पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो।

उक्त घटनाले पाथीभरा दर्शनको उत्साह लिएर यात्रा थालेका श्रद्धालुहरूबीच शोकको छायाँ छाएको छ। आगलागीले सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा तत्काल उद्दार कार्य थालिएको थियो। घटनापछि विद्युत् प्राधिकरण र सम्बन्धित निकायहरूबीच सुरक्षा लापरवाहीको विषयमा प्रश्न उठ्न थालेको छ।

यो दुर्घटना पाथीभरा यात्रा गर्ने तीर्थयात्रीहरूका लागि गम्भीर सन्देश हो, जहाँ यात्राको सुरक्षाप्रति ध्यान दिनु अत्यावश्यक देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ