राजकुमार ओली
गौरादह, झापा – “सेवामा समर्पण, विकासमा प्रतिबद्धता” भन्ने मुल नारासहित २०७९ सालमा उपप्रमुख पदमा निर्वाचित भएकी जलवर्षा राजवंशी (चौधरी) ले गौरादह नगरपालिकालाई समावेशी विकास, सुशासन र सामाजिक न्यायको दिशातर्फ उन्मुख गराउँदै लैजान आफूले इमानदार प्रयास गरिरहेकी बताएकी छन्।
उहाँले कार्यकालको तीन वर्ष पुरा गर्नै लाग्दा आम नगरवासीसमक्ष खुला मनले आफ्नो भाव व्यक्त गर्दै भन्नुभयो, “म जनताको अमूल्य मतलाई भगवानको प्रसाद मानेर यही आधारमा काम गरिरहेकी छु। नियत कहिल्यै बिग्रिएको छैन, कर्तव्यमा चुकिएको छैन।”
गौरादहको बदलिँदो स्वरूप
उपप्रमुख राजवंशीको संयोजन र समन्वयमा नगरमा पछिल्लो तीन वर्षमा विकासका थुप्रै महत्वपूर्ण पहलहरू अघि बढाइएको छ। तीमध्ये केही प्रमुख परियोजनाहरू यस्ता छन्:
गौरादह–३ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै स्वास्थ्य सेवा पहुँच वृद्धि
बेलबारी, गौरादह र दमक जोड्ने सडकमार्गको सुधार
नारी तथा बालमैत्री कार्यक्रम अन्तर्गत महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
नगरका विद्यालयहरूमा छात्रवृत्ति वितरण र आधारभूत पूर्वाधार सुधार
नगरपालिकाको आधिकारिक डिजिटल प्रणाली विकासमार्फत सेवा प्रवाह छरितो बनाउने प्रयास
उहाँको पहलमा महिला, दलित, सिमान्तकृत समुदायलाई नगर योजनामा समेट्ने अभ्यासले गौरादहलाई समावेशी नगरको रूपमा स्थापित गर्न सहयोग पुगेको छ।
स्थानीय, प्रदेश र संघीय समन्वयमा सक्रियता
उपप्रमुख राजवंशी कोशी प्रदेशको नगरपालिका संघकी सदस्य समेत हुनुहुन्छ, जसले गर्दा नगरका हितका लागि नीति तहमा प्रभावकारी पहल गर्न सक्ने उहाँको पहुँच बढेको छ। उहाँले यस अवधिमा १४ जिल्लामा रहेका नगरहरूसँग समन्वय गर्दै गौरादहका समस्या तथा सम्भावनाहरूको वकालत गर्नुभएको छ।
प्रतिनिधिमाथिको अपमान : जनमतको अपमान
पछिल्लो समय गौरादहभित्रै एक कार्यक्रममा भाग लिन गएकी राजवंशीमाथि गरिएको अभद्र व्यवहारप्रति उहाँले कडा आपत्ति जनाउँदै भन्नुभयो, “यो ममाथि मात्र होइन, उपप्रमुख बन्न मलाई मत दिने हजारौँ नगरवासीको अपमान हो। म यसको घोर भर्त्सना गर्छु।”
उहाँले आत्मरक्षाका लागि प्रतिक्रिया जनाउनु परेको बताउँदै, आफूलाई बदनाम गर्न खोज्ने तत्वहरूप्रति सशक्त रूपमा जनताको समर्थन माग्नुभयो।
सहकार्य र सल्लाहको अपेक्षा
उपप्रमुख राजवंशीले गौरादह नगरको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै थपिन्, “यो जिम्मेवारी म एक राजनीतिक पदको रूपमा होइन, नगरको छोरी भएर बुझेकी छु। विकास, सुशासन र सामाजिक न्यायमा तपाईंहरूको साथ, सल्लाह र मार्गदर्शनको सधैं अपेक्षा छ।”