राजकुमार ओली, ३ जेठ: इलाम
कोशी प्रदेश सरकारद्वारा घोषणा गरिएको “पर्यटन वर्ष २०८२” लाई सघाउने उद्देश्यले इलाममा आयोजना गरिएको फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ।
इलामको रमणीय स्थलमा सम्पन्न कार्यक्रममा राष्ट्रियस्तरका कलाकार, राजनीतिज्ञ, पर्यटन व्यवसायी, पत्रकार, प्रशासक, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रह्यो।
कार्यक्रम व्यवस्थापनका लागि विनोद पाण्डेको संयोजकत्वमा गठित चार सदस्यीय समितिले सम्पूर्ण आयोजनालाई व्यवस्थापन गरेको थियो। समितिमा पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल सदस्य सचिवका रूपमा, पत्रकार सन्तोष पुर्कोटी र दिपक बोहोरा सदस्यका रूपमा संलग्न थिए। कार्यक्रमको निर्णय प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्राविधिक रूपमा प्रभावकारी बनाउने उद्देश्यले निर्णायक समिति गठन गरिएको थियो। उक्त समितिको संयोजकत्व गिरीराज बास्कोटाले गर्नुभएको थियो भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा सहभागी थिए।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले स्वागत मन्तव्य राख्दै पर्यटन प्रवर्द्धनका लागि यस्ता सिर्जनात्मक प्रदर्शनी कार्यक्रमहरूको विशेष महत्व हुने बताए। खतिवडाले कोशी प्रदेशमा पाइने प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, जैविक खेती, बोटबिरुवाको दुर्लभता र चिया पर्यटनको समृद्ध सम्भावनाहरूलाई चित्र मार्फत उजागर गर्नुले अन्तर्राष्ट्रिय क्षेत्रमै प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे।
सो अवसरमा प्रमुख अतिथि सांसद सम्शेर राईले पर्यटन प्रवर्द्धनलाई मुलुकको समृद्धिसँग जोडिएको विषयको रूपमा चित्रण गर्दै भन्नुभयो, “हामीले अब पर्यटनलाई बालुवा, हिमाल र होटलमा सीमित नराखी, स्थानीय कला, भाषा, संस्कृतिसँग जोडेर जीवन्त बनाउनु पर्छ।” उहाँले यस्ता प्रदर्शनीहरूले युवा पुस्तालाई मौलिकताको सम्मान गर्ने संस्कार दिनुका साथै पर्यटन पेशा प्रति आकर्षण समेत बढाउने बताए।
सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले स्थानीय सरकारको तर्फबाट पर्यटन क्षेत्रमा हुने यस्ता पहलहरूमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए। “सूर्योदय नगरको हरेक बस्ती पर्यटन केन्द्र बन्न सक्ने सम्भावना बोकेको छ। हामी पूर्वाधार, नीति र जनशक्ति विकासमा केन्द्रित छौं,” प्रमुख राईको भनाइ थियो।
इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराईले पर्यटन विकासका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे। होटल व्यवसायी संघका अध्यक्ष देवी गौतमले इलामलाई पूर्वी नेपालको पर्यटन केन्द्र बनाउने साझा सपना साकार पार्न यस्ता प्रदर्शनीहरू प्रेरणादायी हुने बताए।
कार्यक्रम सञ्चालन पत्रकार सन्तोष पुर्कोटीले गरेका थिए। उहाँले उद्घोषणको क्रममा कार्यक्रमका उद्देश्य, संयोजन र प्रदर्शनीमा सहभागिता जनाएका कलाकारहरूको सन्देशमार्फत सहभागीहरूको ध्यान आकर्षित गर्नुभयो।
प्रदर्शनी स्थलमा फोटोग्राफीमार्फत इलामको पर्यावरणीय, सामाजिक, सांस्कृतिक र जैविक विविधतालाई प्रतिनिधित्व गर्ने ६० फोटाहरु प्रदर्शित गरिएको थियो। कतिपय चित्रहरूमा लोपोन्मुख जातजाति, परम्परागत संस्कार, पर्वहरू, र हस्तकला झल्किने दृश्य समावेश गरिएका थिए। यस प्रदर्शनीले “फोटो र चित्र संवादका सशक्त माध्यम हुन्” भन्ने सन्देश दिँदै दर्शकहरूलाई दृश्य–अभिव्यक्तिबाट भावनात्मक रूपमा जोड्ने प्रयत्न गर्यो।
वरिष्ठ फोटोग्राफर विश्व ताम्रकारले “एक फोटोले सय शब्द बोल्न सक्छ” भन्ने भनाइलाई उद्धृत गर्दै, यस्तो प्रदर्शनीले पर्यटन, संरक्षण र पहिचानको त्रिवेणी सिर्जना गर्ने विचार राखे। चित्रकला प्रशिक्षक छेतेन शेर्पाले नवप्रवेशी कलाकारहरूलाई यस्ता मञ्चहरूले ठूलो अवसर दिने भएकाले नियमितरूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।
प्रदर्शनी स्थलमा स्थानीय बासिन्दादेखि अन्य जिल्लाबाट आएका अवलोकनकर्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। आयोजकका अनुसार करिब ४ सयभन्दा बढीले प्रदर्शनी स्थलको अवलोकन गरे। कतिपय युवाहरू चित्रहरू अगाडि लामो समय उभिएर गहिरो चासो देखाइरहेका थिए भने केहीले त आफ्नो मोबाइलमार्फत फोटो खिचेर सामाजिक सञ्जालमा पनि पोस्ट गरेका थिए थिए। यसले यस्ता कार्यक्रमको प्रभाव जनमानसमा गहिरो परेको संकेत गरेको छ।
आजको कार्यक्रमले कोशी प्रदेशलाई पर्यटकीय गतिविधिको मोडल प्रदेशको रूपमा विकास गर्न सकिने स्पष्ट योजना अघि सारिसकेका छन्। प्रदर्शनी कार्यक्रममा सहभागी सहसंयोजक कृष्ण शाहले पनि सोही धारणा पुष्टि गर्दै भने, “यो कार्यक्रम कोशी प्रदेशको सांस्कृतिक पर्यटनको प्रवाह बढाउने रणनीतिक पाइला हो। अब हाम्रा कला, संस्कृति र प्राकृतिक विविधता केवल फोटोमा मात्र सीमित हुने छैन, त्यसलाई जीवित अनुभवका रूपमा पर्यटकसम्म पु-याउने अभियान सुरु भएको छ।”
कार्यक्रमको समापनतर्फ आयोजकहरूले यस्तो प्रदर्शनीलाई वार्षिक रूपमा निरन्तरता दिने योजना सार्वजनिक गरे। संयोजक विनोद पाण्डेले आयोजकको तर्फबाट सम्पूर्ण सहभागी, कलाकार, निर्णायक मण्डल, दर्शक, स्वयंसेवक र साझेदार संस्थाहरूलाई धन्यवाद दिँदै, यस्ता कार्यक्रमहरूले प्रदेशको पर्यटन नक्सालाई पुनः परिभाषित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा केही अवलोकनकर्ताहरूले इलामको कला र पर्यटनबारे भावनात्मक प्रतिक्रिया पनि व्यक्त गरेका थिए। सूर्योदयबाट आएका एक युवाले भने, “यो कार्यक्रमले मेरो गाउँ, हाम्रो पहिचान, हाम्रो गर्वलाई देखाएको छ। अब मैले यो कुरालाई संसारलाई भन्न मन लागेको छ।”
यसरी, कोशी प्रदेश पर्यटन वर्ष २०८२ को पूर्वसन्ध्यामा सम्पन्न इलामको फोटोग्राफी प्रदर्शनी केवल एउटा सांस्कृतिक कार्यक्रम थिएन, यो प्रदेशको आत्मा बोलेको एउटा दृश्य–कथन थियो। जसले विकास र पर्यटन प्रवर्द्धनलाई एउटै धागोमा गाँस्न सक्ने सशक्त सुरुवात गरेको छ।