राजकुमार ओली,बिराटनगर, असार २०,
भारत सरकारले नेपालको दक्षिणी सीमासँग सटेको क्षेत्रमा ६ लेनको आधुनिक ‘एक्सप्रेसवे’ निर्माणको प्रक्रिया अघि बढाएको छ।
भारतको पश्चिम बंगाल राज्यको हल्दियाबाट बिहारको रक्सौलसम्म करिब ५८५ किलोमिटर दूरी तय गर्ने उक्त एक्सप्रेस राजमार्गको रेखांकनको काम थालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय केन्द्रीय सडक तथा परिवहन राजमार्ग मन्त्रालयअन्तर्गतको ‘अलाइनमेन्ट अप्रुभल कमिटी’ले हालै सडकको सम्भावित मार्गको रेखांकन सुरु गरेको हो। करिब ३५ हजार ८ सय १७ करोड भारतीय रुपैयाँ लागतमा निर्माण हुने भनिएको उक्त ६ लेनको मार्ग ६० मिटर चौडाइको हुनेछ र त्यहाँ सवारी साधनले अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्नेछन्।
सडकले भारतका तीन राज्यहरू—पश्चिम बंगाल, बिहार र झारखण्डलाई जोड्नेछ भने नेपालको मुख्य व्यापारिक नाका वीरगन्जलाई समेत सिधा जोडिनेछ। उद्योगीहरूका अनुसार हल्दिया बन्दरगाहबाट रक्सौल हुँदै नेपाल भित्रिने मार्ग विकास भएमा मध्य र पश्चिम नेपालका उद्योगहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यो सडक निर्माणपछि विशेष गरी वीरगन्ज क्षेत्रका उद्योगहरूलाई ठूलो राहत हुने बताए। उनले भने, “यो सडक बन्दा विराटनगरलाई प्रत्यक्ष फाइदा तत्काल नदेखिन सक्छ, तर कच्चा पदार्थको ढुवानी सहज हुने भएकाले दीर्घकालमा सम्पूर्ण उद्योग क्षेत्र लाभान्वित हुनेछ।”
यस्तै, उद्योगी राजकुमार गोल्छा र शंकरलाल अग्रवालले पनि सो सडक निर्माणले नेपाललाई समग्रमा लाभ दिने धारणा राखेका छन्। गोल्छाका अनुसार, “रक्सौलदेखि हल्दिया जोड्ने राजमार्ग दूरीका हिसाबले विराटनगरभन्दा टाढा पर्छ, तर आयात प्रक्रिया सहज हुँदा त्यसको फाइदा सिंगो औद्योगिक क्षेत्रले पाउनेछ।”
हाल औद्योगिक कच्चा पदार्थ कोलकाता बन्दरगाहबाट कोसी प्रदेश हुँदै आउने भए पनि सोझै हल्दियाबाट रक्सौल नाका प्रयोग हुन थालेमा, विराटनगर–जोगबनी नाकासँग प्रतिस्पर्धा गर्दै यातायात विकल्पको विस्तार हुने विश्वास उद्योगीहरूको छ।
सडक रेखांकनअनुसार यो मार्ग रक्सौलदेखि मोतिहारी, शिवहर, दरभंगा, मुजफ्फरपुर, समस्तीपुर, बेगुसराय, खगडिया, लखीसराय, जमुई, बाँका, मुंगेर, देवघर, दुमका, जामताढा, आसनसोल हुँदै हल्दियासम्म विस्तार हुनेछ। भारतीय मन्त्रालयका अनुसार उक्त मार्गले बिहार राज्यका ११ जिल्ला पार गर्नेछ।
मोरङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालका अनुसार यो सडक नेपालको औद्योगिक पहुँच विस्तारको दीर्घकालीन साधन बन्न सक्छ। उनका अनुसार, “कोलकाता बन्दरगाहको विकल्पस्वरूप हल्दियाबाट सिधा वीरगन्ज नाकासम्म सामान ल्याउन सकिने सम्भावना नेपालका उद्योगहरूका लागि अवसर हो।”
नेपालको प्रमुख भन्सार नाका मध्ये एक वीरगन्ज नाका रक्सौलसँग जोडिएको छ। बन्दरगाहसँग सिधा सडक सञ्जालको विस्तार हुनु नेपालको आर्थिक संरचना तथा उद्योग व्यवसायको दृष्टिले महत्वपूर्ण मानिएको छ। प्रस्तावित राजमार्गसँगै लिंक रोडहरू निर्माण भएमा कोसी प्रदेशदेखि सुदूरपश्चिमसम्मका उद्योगहरूको लाभ हुने व्यवसायीहरूको भनाइ छ।