+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राससको स्थापना दिवसमा झापामा अन्तरक्रिया कार्यक्रम

बाटिका अनलाइन
२०८२ फाल्गुन ६, बुधबार

सरस्वती मिस्र,६फागुन:(बाटिका अनलाइन)
राज्यको बजेटबाट सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ स्थापना दिवसका अवसरमा झापामा यसको ग्राहक विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विसं २०१८ फागुन ७ गते स्थापना भएको राससले स्थापनाकालदेखि नै देश–विदेशका समाचार संकलन, सम्पादन र वितरण गर्दै राष्ट्रिय सूचना प्रवाहको मूल आधारका रूपमा काम गर्दै आएको छ। सरकारी स्वामित्वमा सञ्चालन भए पनि राससले सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मान्यतालाई आत्मसात् गर्दै सरकारी, निजी तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समाचार सेवा प्रदान गर्दै आएको छ। मुलुकको लोकतान्त्रिक अभ्यास, संवैधानिक परिवर्तन, प्राकृतिक विपद्, निर्वाचन तथा सामाजिक–आर्थिक रूपान्तरणका प्रत्येक चरणमा राससले विश्वसनीय सूचनाको स्रोतका रूपमा भूमिका निर्वाह गरेको छ।
भद्रपुर प्रेस क्लबको सभाहलमा आयोजित कार्यक्रममा अग्रज सञ्चारकर्मी गोविन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा रासस झापा कार्यालय प्रमुख दीपक चन्दले जिल्लामा सयौँ सञ्चारमाध्यम सञ्चालनमा रहे पनि राससका ग्राहक तीनवटा मात्र हुनु आश्चर्यजनक भएको बताउनुभयो। उहाँले राससको समाचार सेवा गुणस्तरीय र आधिकारिक भएकाले स्थानीय सञ्चारमाध्यमले ग्राहकका रूपमा जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
राससले स्थापनाकालमा सीमित स्रोत–साधनका बीच तारसेवा र मुद्रित बुलेटिनमार्फत समाचार वितरण सुरु गरेको थियो। प्रविधिको विकाससँगै यसले फोटो सेवा, अङ्ग्रेजी सेवा, फिचर सेवा र अनलाइन प्रणालीमार्फत २४सै घण्टा समाचार प्रवाह गर्ने व्यवस्था मिलाएको छ। हाल राससले देशभर जिल्ला प्रतिनिधि सञ्जाल विस्तार गरी केन्द्रदेखि स्थानीय तहसम्मका गतिविधि समेट्दै आएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीसँगको सहकार्यबाट विश्व परिदृश्यसम्बन्धी सामग्री पनि उपलब्ध गराउँदै आएको छ।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रमा राससले पारेको प्रभाव र आगामी दिनमा गर्नुपर्ने कामबारे धारणा राखेका थिए। राससको संस्थागत सुदृढीकरणका लागि झापाबाटै वार्षिक ग्राहक बन्ने अभियान प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै अनलाइन सञ्चारमाध्यमका लागि मासिक शुल्क धेरै भएको उल्लेख गरिएको थियो। शुल्क आधा घटाउन सके ग्राहक विस्तारमा सहज हुने सुझाव सहभागीहरूले दिएका थिए।
त्यसैगरी राससका ग्राहक सञ्चारमाध्यममा मात्र सीमित नराखी मन्त्रालय, विश्वविद्यालय, प्रदेश सरकार, पालिका तथा अनुसन्धान केन्द्रसम्म विस्तार गर्न सके संस्थालाई व्यावसायिक रूपमा थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गरिएको थियो। सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल सामग्री, तथ्यपरक विश्लेषण तथा डाटा पत्रकारितामा राससले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
रासस जिल्ला प्रतिनिधि तथा पूर्व कार्यालय प्रमुख अम्बिका भण्डारीले राससको वर्तमान अवस्था, अवसर र चुनौतीबारे जानकारी गराउँदै संस्थालाई दिगो र सक्षम बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो। झापा प्रमुख दीपकचन्द्रले हालसम्मका कार्यको समीक्षा गर्दै समाचारलाई अझ प्रभावकारी, विश्वसनीय र प्रतिस्पर्धी बनाउन सञ्चारकर्मीको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाजमा विश्वसनीय सूचना प्रवाह गर्ने राससको भूमिकालाई थप सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी, महासङ्घ कोशीका सदस्य राजकुमार ओली, झापा शाखाका सचिव राजु पाठक, नेपाल प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला लगायतका सञ्चारकर्मीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ