राजकुमार ओली बिर्तामोड झापा।
: बिर्तामोड नगरको मुख्य चोकबाट शनिश्चरे रोड अन्तर्गत कप्तानबारी–पुष्पलाल चोक–प्रणामी मन्दिर–मिलनचोक हुँदै जयपुर जोड्ने सडक कालोपत्रे भएसँगै उत्तरी झापाको यातायात, कृषि बजारीकरण र स्थानीय व्यवसायमा उल्लेख्य सहजता आएको छ। लामो समयसम्म कच्ची र धुलाम्मे अवस्थामा रहेको उक्त सडक स्तरोन्नति भएसँगै यहाँका स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष प्रभाव परेको सरोकारवालाले बताएका छन्।
संघीय संसद्का सभामुख देवराज घिमिरे ले आफ्नो निर्वाचन क्षेत्रको प्राथमिकतामा राखी ‘एक विकास क्षेत्र, एक रणनीतिक सडक’ अवधारणाअनुसार बजेट विनियोजन गरी सडक कालोपत्रे गराएपछि सो क्षेत्रका बासिन्दालाई कृषि उपज ढुवानी, व्यापारिक आवतजावत तथा दैनिक यात्रामा सहज भएको जनाइएको छ।
जयपुर चोकका स्थानीयवासी नेत्र गौतमका अनुसार सडक निर्माणसँगै इलामतर्फबाट आउने सवारीसाधनको आवागमन बढेको छ भने जयपुरदेखि बिर्तामोडसम्मको दूरी छोटिएको अनुभव भएको छ। “पहिले घण्टौँ लाग्थ्यो, अहिले करिब २० मिनेटमै बिर्तामोड पुग्न सकिन्छ,” उनले भने, “हाम्रा कृषि उपज बजारसम्म पु¥याउन सजिलो भएको छ।”
स्थानीय टेम्पो चालकहरूले पनि सडक स्तरोन्नतिपछि यात्रु संख्या बढेको बताएका छन्। उनीहरूका अनुसार धुलो र हिलोका कारण विगतमा नियमित सेवा सञ्चालन गर्न कठिनाइ हुन्थ्यो। अहिले कालोपत्रे सडक बनेपछि यात्रु आवतजावत सहज हुनुका साथै सवारी साधनको मर्मत खर्चमा समेत कमी आएको छ।
कप्तानबारी चोकमा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठले सडक निर्माणअघि व्यवसाय सञ्चालनमा निकै सकस रहेको बताए। “कच्ची बाटो हुँदा धुलो उड्थ्यो, ग्राहक बस्न असहज हुन्थ्यो,” उनले भने, “अहिले व्यवसाय दोब्बर वृद्धि भएको छ। बिर्तामोडको बजार आफ्नै आँगनमा आएजस्तै भएको छ।”
अर्जुनधारा–८ की स्थानीय मञ्जु सन्जेलले सडक कालोपत्रे भएसँगै घरपरिवारको दैनिकी सहज बनेको बताइन्। उनका अनुसार पहिले धुलोका कारण भान्साघरमै फोहोर जम्ने र बालबालिकालाई विद्यालय पठाउन समस्या हुने गरेको थियो। “अहिले वातावरण सफा भएको छ, बालबालिकालाई विद्यालय पठाउन सजिलो भएको छ,” उनले भनिन्।
उक्त सडकले बिर्तामोड नगरलाई जयपुर तथा इलामतर्फका बस्तीहरूसँग प्रत्यक्ष रूपमा जोडेको छ। कोशी प्रदेशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको बिर्तामोड नगरसँग सिधा सम्पर्क स्थापित भएपछि उत्तरी झापाका कृषकलाई लाभ पुगेको स्थानीयको भनाइ छ। मकै, धान, चामल लगायत कृषि उत्पादन अब सहज रूपमा बजारसम्म पु¥याउन सकिने भएको छ।
सभामुख घिमिरेले क्षेत्रीय सन्तुलित विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार सडक पूर्वाधार सुदृढ भए मात्र कृषि, शिक्षा, स्वास्थ्य र व्यापार क्षेत्रको समग्र विकास सम्भव हुन्छ। “यो सडक केवल यातायातको साधन मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ गर्ने आधार हो,” उनले भने।
यस विषयमा प्रतिक्रिया दिँदै बलदेव गोमदेव ले बिर्तामोड नगरसँग जोडिने सहायक सडकहरूको स्तरोन्नति नगर विकासको दीर्घकालीन रणनीतिअन्तर्गत अगाडि बढाइएको बताए। “बिर्तामोडलाई कोशी प्रदेशकै व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने लक्ष्य छ,” उनले भने, “त्यसका लागि आसपासका ग्रामीण क्षेत्रसँग गुणस्तरीय सडक सञ्जाल आवश्यक हुन्छ।”
नगर प्रमुख गोमदेवका अनुसार उक्त सडक निर्माणले बिर्तामोड बजारमा कृषि उपजको आपूर्ति बढ्ने, स्थानीय उत्पादनको बजारीकरण सशक्त हुने तथा साना तथा मझौला व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले आगामी दिनमा सडक छेउमा नाली व्यवस्थापन, हरियाली प्रवर्द्धन र सडक बत्ती जडानको कामसमेत अघि बढाइने जानकारी दिए।
स्थानीयवासीका अनुसार विगतमा वर्षायाममा हिलो र सुक्खायाममा धुलोका कारण आवतजावतमा ठूलो समस्या हुने गरेको थियो। एम्बुलेन्स, विद्यालय बस तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत कठिनाइ हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो। अहिले कालोपत्रे सडक बनेपछि स्वास्थ्य संस्था, विद्यालय तथा बजारसम्मको पहुँच सहज भएको छ।
उक्त सडकले इलाम र उत्तरी झापालाई जोड्ने वैकल्पिक मार्गका रूपमा समेत काम गर्न थालेको छ। इलामबाट आउने सवारी साधन अब जयपुर हुँदै बिर्तामोड प्रवेश गर्न सक्ने भएपछि यातायात चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार सडक निर्माणपछि घरजग्गा मूल्यमा समेत वृद्धि भएको छ। नयाँ पसल, होटल तथा सेवा केन्द्र खुल्ने क्रम बढेको देखिएको छ। यसले रोजगारी सिर्जना तथा आन्तरिक आर्थिक गतिविधिमा टेवा पुगेको उनीहरूको भनाइ छ।
यसरी बिर्तामोड मुख्य चोकदेखि जयपुरसम्मको सडक स्तरोन्नति भएपछि स्थानीय जीवनस्तर उकासिनुका साथै क्षेत्रीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको देखिन्छ। पूर्वाधार विकासलाई प्राथमिकता दिँदा ग्रामीण तथा शहरी क्षेत्रबीचको दूरी घट्दै गएको स्थानीय बासिन्दाको अनुभव छ।
जयपुरबाट राजकुमार ओलीको रिपोर्ट ।