राजकुमार ओली, १२ फागुन (बाटिका अनलाइन)
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखासँगको सहकार्यमा चार दिवसीय घटना व्यवस्थापनसम्बन्धी तालिम सुरु गरेको छ । पूर्वी नाका क्षेत्रमा लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त तालिम मेचीनगर–६ स्थित आदर्श माविमा सञ्चालन भइरहेको छ ।
नेपालको पूर्वी सीमावर्ती क्षेत्र काकरभिट्टा हुँदै विभिन्न मुलुकतर्फ आवागमनको क्रम तीव्र बन्दै गएको सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दो देखिएकाले अग्रपंक्तिमा कार्यरत संस्था तथा व्यक्तिहरूलाई सुदृढ बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । विशेषगरी जोखिम क्षेत्रमा खटिने सुरक्षाकर्मी, सामाजिक संघसंस्था तथा स्थानीय तहका प्रतिनिधिलाई घटना व्यवस्थापन, उद्धार, परामर्श र समन्वयका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रम उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नेपालको पूर्वी नाका अत्यन्त संवेदनशील क्षेत्रका रूपमा परिचित रहेको उल्लेख गर्दै यस्ता तालिमले लैङ्गिक हिंसा तथा मानव बेचबिखनका घटनालाई समयमै पहिचान गरी न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमावर्ती क्षेत्रमा उत्पन्न जोखिमलाई मध्यनजर गर्दै दीर्घकालीन रणनीतिका साथ सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाकी महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलका अनुसार पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट हुने आवागमन बढेसँगै महिला, पुरुष तथा बालबालिका हिंसाका घटनामा समेत वृद्धि देखिएको छ । “नेपालको पश्चिम महाकालीदेखि पूर्वी नाकासम्म मानव बेचबिखन तथा ओसारपसारका गतिविधि सक्रिय देखिएका छन्,” उहाँले भन्नुभयो, “त्यसैले अग्रपंक्तिमा खटिने निकायलाई सशक्त बनाउनु अपरिहार्य भएको छ ।”
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकामाथि हुने हिंसा र शोषणका घटनामा सीमावर्ती क्षेत्र उच्च जोखिममा रहेको औँल्याउनुभयो । उहाँका अनुसार परिवार, समुदाय र संस्थागत तहमा समन्वय अभाव हुँदा पीडित बालबालिका झनै जोखिममा पर्ने गरेका छन् । यस्तो अवस्थामा घटना व्यवस्थापनसम्बन्धी तालिमले सरोकारवालाबीच सहकार्य र समन्वय बढाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी, सामाजिक तथा प्रशासनिक संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले न्यायिक समितिमार्फत पीडितलाई न्यायमा पहुँच पुर्याउने प्रयास गरिरहेको उल्लेख गर्दै क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले हिंसाका घटनामा संवेदनशीलता, गोपनीयता र छिटो प्रतिक्रिया महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार घटना व्यवस्थापनका क्रममा पीडितमैत्री व्यवहार, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था प्रभावकारी हुनुपर्छ । “तालिमले सहभागीलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक अभ्याससमेत प्रदान गरिरहेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा केस म्यानेजर अरुणा चौधरीले सीमावर्ती क्षेत्रमा उद्धारपछिको पुनःस्थापनालाई चुनौतीपूर्ण कार्यका रूपमा चित्रण गर्नुभयो । पीडितलाई परिवार तथा समुदायमा पुनःस्थापना गर्दा सामाजिक स्वीकृति, आर्थिक सशक्तीकरण र मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओलीले लैङ्गिक हिंसासम्बन्धी समाचार सम्प्रेषण गर्दा जिम्मेवार र संवेदनशील पत्रकारिताको आवश्यकता औँल्याउनुभयो । सञ्चारमाध्यमले पीडितको गोपनीयता कायम राख्दै सचेतनामूलक सामग्री प्रसारण गर्नुपर्ने उहाँको धारणा थियो ।
चार दिवसीय तालिममा माइती नेपाल, साना हातहरू, नव अभियान, आफन्त नेपाल, साहसी महिला नेपाल, आमा समूह, गैरसरकारी संघ–सञ्जाल, जिल्ला प्रहरी कार्यालय, तथा प्रादेशिक अस्पताल भद्रपुर लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी छन् । सहभागीहरूलाई कानुनी प्रावधान, उद्धार तथा संरक्षण प्रक्रिया, अभिलेखीकरण, अन्तरनिकाय समन्वय, र मनोसामाजिक सहयोगका विषयमा प्रशिक्षण दिइँदै छ ।
साना हातहरू संस्थाका प्रतिनिधि दीपक पौडेलले मेची पुल क्षेत्र तथा आसपासबाट जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार कार्यमा आफूहरू सक्रिय रहेको बताउनुभयो । “यो तालिमपछि अझ व्यवस्थित र ऊर्जावान् रूपमा काम गर्ने आत्मविश्वास बढेको छ,” उहाँले भन्नुभयो ।
नेपाल प्रहरीकी सहायक प्रहरी निरीक्षक मिलनकुमारी राईले सामुदायिक प्रहरी अवधारणामार्फत स्थानीय तह र समुदायसँग सहकार्य गर्दै सीमावर्ती क्षेत्रमा हुने घटनालाई न्यूनीकरण गर्न पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरी र सामाजिक संघसंस्थाबीचको समन्वयले मात्र दिगो समाधान सम्भव छ । “तालिमले हाम्रो कार्यक्षमता र समन्वय कौशल थप सुदृढ बनाएको छ,” उहाँले उल्लेख गर्नुभयो ।
मेचीनगर न्यायिक समितिकी इन्दिरा खरेल ओलीले स्थानीय तहले लैङ्गिक हिंसाका उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गरिरहेको बताउँदै गहिरो अध्ययन र तथ्यमा आधारित हस्तक्षेप आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले रोकथाम र प्रतिकार्यलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
आयोजकका अनुसार निर्वाचनको मुखमा कार्यक्रम परे पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार तालिम सञ्चालन गरिएको हो । सीमावर्ती क्षेत्रमा देखिएको बढ्दो जोखिमलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।
चार दिनसम्म सञ्चालन हुने तालिमले सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल तथा केस अध्ययनमार्फत घटना व्यवस्थापनमा दक्ष बनाउने लक्ष्य राखिएको छ । सीमावर्ती क्षेत्रको संवेदनशीलतालाई दृष्टिगत गर्दै लैङ्गिक हिंसा तथा मानव बेचबिखन न्यूनीकरणमा स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था र सञ्चारमाध्यमबीच सहकार्य सुदृढ गर्ने अपेक्षा गरिएको छ ।