+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लायन्सका संस्थापक अध्यक्ष ओली सम्मानित: २६ कि अध्यक्ष आरती लिम्बुको टिमको पद हस्तान्तरण

बाटिका अनलाइन
२०८२ फाल्गुन १६, शनिबार

बिर्तामोड, १६ फागुन । लायन्स क्लब अफ बिर्तामोड लेडीको छैटौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बिर्तामोडमा आयोजित इन्डक्सन तथा इन्स्टलेसन समारोहमा सन् २०२५ की अध्यक्ष इन्दिरा खरेल नेतृत्वको समितिले सन् २०२६ की अध्यक्ष आरती लिम्बु श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो।
कार्यक्रममा निवर्तमान अध्यक्ष खरेलले नव–निर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स चेन हस्तान्तरण गर्नुभएको थियो। प्रमुख अतिथि तथा इन्स्टलिङ अफिसर Lions Clubs International District 325Cका डिस्ट्रीक्ट गभर्नर बबरजंग थापाले ग्याभल हस्तान्तरण गर्दै नयाँ कार्यसमितिको पदस्थापन घोषणा गर्नुभयो।
उक्त अवसरमा बोल्दै गभर्नर थापाले लायन्स आन्दोलनलाई विश्वकै उत्कृष्ट सेवामूलक अभियानमध्ये एक भएको उल्लेख गर्नुभयो। “लायन्स एक उत्कृष्ट संस्था हो, जसले मानव सेवा, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासलाई सँगसँगै अघि बढाएको छ,” उहाँले भन्नुभयो, “स्थानीय स्तरमा सक्रिय क्लबहरूले समुदायमा देखिने परिवर्तन ल्याइरहेका छन्।” उहाँले लायन्स क्लब अफ बिर्तामोड लेडीले छोटो समयमै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र राहतका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दुर्गा देवी पौडेल, द्वितीय उपाध्यक्षमा सिस शाह, तृतीय उपाध्यक्षमा संगीता चिमरिया, सचिवमा सीता ढकाल खरेल, कोषाध्यक्षमा दुर्गा देवी खरेल, सह–सचिवमा मुना पौडेल तथा सदस्यमा सुनिता उप्रेती, अम्बिका मैनाली र कल्पना बानियाँ चयन हुनुभएको छ। सदस्यहरूमा उमा शाह, मिल्टु राजभण्डारी, इन्दिरा भण्डारी बिमली, तारा उप्रेती र शान्ति शर्मा रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष आरती लिम्बु श्रेष्ठले पदभार ग्रहणपछि क्लबको सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लक्षित कार्यक्रम, विपन्न समुदायलाई सहयोग र महिला नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
कार्यक्रममा जुनियर संगठनका रूपमा रहेको लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष रक्षा खरेललाई पनि पदस्थापन गराइएको थियो। लियो क्लबको सन् २०२५ को नेतृत्व दीक्षा कडरियाले गर्नुभएको थियो। लियो क्लबमार्फत युवा सहभागिता बढाउँदै सामाजिक सेवामा नयाँ पुस्तालाई जोड्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
समारोहका क्रममा Lions Club of Birtamode Cityका चार्टर्ड प्रेसिडेन्ट निरज ओली र पूर्व अध्यक्ष सत्यनारायण चौधरीलाई विशेष सम्मान गरिएको थियो। लायन्स क्लब अफ बिर्तामोड लेडीलाई विभिन्न समयमा सहयोग, मार्गदर्शन र अभिभावकत्व प्रदान गरेको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।
विशेषतः संस्थापक अध्यक्षसमेत रहनुभएका निरज ओलीको योगदानलाई कार्यक्रममा उच्च मूल्यांकन गरिएको थियो। वक्ताहरूले क्लब स्थापना, विस्तार र संस्थागत सुदृढीकरणमा उहाँको नेतृत्वदायी भूमिकाले क्लबलाई स्थायित्व र पहिचान दिलाएको उल्लेख गरे। सेवामूलक भावनालाई संस्थागत रूप दिन उहाँले खेलेको भूमिकालाई स्मरण गर्दै कार्यक्रममार्फत कृतज्ञता व्यक्त गरिएको थियो।
समारोहमा डिस्ट्रीक्ट ३२५ सि का सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर रमेश खत्री, क्याबिनेट सेक्रेटरी नेत्र चम्लागाईं, चिफ एडभाइजर उदयनारायण बराल, पीआरओ सत्यनारायण शर्मा, डिस्ट्रीक्ट चिफ मनोज बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै संस्थापक अध्यक्ष उर्मिला बिमली खरेल तथा पूर्व अध्यक्षहरू दुर्गा पाठक थपलिया, नम्रता रिजाल ढकाल र निरु उप्रेतीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले लायन्स अभियानलाई समाज रूपान्तरणको सशक्त माध्यमका रूपमा चित्रण गर्दै स्थानीय तहमा सेवामूलक गतिविधि विस्तार गर्न आग्रह गरेका थिए। सामूहिक प्रतिबद्धता र सहकार्यबाट समुदायमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ