+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हैरानी खेप्दै विन्दु-उद्योग खोल्न दमक नगरपालिकाले दिएन स्वीकृति–यो जग्गा सरकारी हो,’ वडाध्यक्ष न्यौपाने

बाटिका अनलाइन
२०८१ असार ३१, सोमबार

उद्यमी विन्दु सिटौलाले दमक नगरपालिका– १ मा उद्योग सञ्चालनका लागि संरचना बनाएको दुई वर्ष भयो । आफ्नो नाममा रहेको दश कट्ठा जग्गामा पेवर ब्लक उद्योग सञ्चालनका लागि उनले त्यहाँ डेढ करोड लगानी गरिसकेकी छिन् । इको नेपाल इन्फा स्ट्रक्चर नामक कम्पनीबाट उद्योग सञ्चालनका लागि नगरपालिकामा व्यवसाय दर्ता गर्न दुई वर्षअघि उनी वडा कार्यालयमा सिफारिस लिन पुगिन् ।

वडा कार्यालयले स्थलगत सर्जिमिनका लागि कर्मचारी उद्योग स्थापना गरेको ठाउँसम्म पठायो । विन्दुलाई केही दिनमा वडा कार्यालयमा प्रमाणपत्र लिन पनि बोलाइयो । तर, त्यसपछि भने उनलाई उद्योग दर्ताका लागि प्रमाणपत्र दिनुको सट्टा उल्टै नगरपालिकाले हैरानी मात्र दियो । नगरपालिकाले सिटौलाको नाममा रहेको साबिक मधुमल्ला ६ (ङ) मा दर्ता कायम भएको १६४ कित्ता नम्बरको जग्गा कमल गाउँपालिका– ५ मा पर्ने भन्दै सिफारिस दिन रोक्यो । यो जग्गा कमल र दमकको सीमा भएर बग्ने रतुवा नदीको पश्चिमतर्फ पर्छ ।

विन्दु सिटौला आफ्नो जग्गा दमकमै पर्ने भन्दै निरन्तर नगरपालिकाविरुद्ध लडिरहिन् । उनले ०७३ देखि जग्गाको सम्पत्ति कर नगरपालिकालाई तिर्दै आएकी थिइन् । तर, दुई वर्षदेखि दमक– १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको निर्देशन भन्दै उनको सम्पत्ति करसमेत वडाले लिन छाडेको छ । ‘मेरो जग्गा कमल गाउँपालिकामा पर्छ भनेर उद्योगको दर्ता गर्न दमक नगरपालिकाले मानेन । तर, यो जग्गा दमक नगरपालिकामै पर्छ भनेर भनिरहेकी छु,’ सिटौलाले भनिन्, ‘अहिले त सम्पत्ति कर नै लिन मान्दैनन् । किन नलिएको भन्दा वडाध्यक्षको निर्देशन भन्ने जवाफ आउँछ ।’

वडाध्यक्ष न्यौपानेले उक्त जग्गा दमकभित्र नपर्ने भन्दै उद्योग दर्ता गर्न नमानेपछि सिटौला कमल गाउँपालिका पुगिन् । कमल गाउँपालिकाले भने गत २१ वैशाखमा उक्त कित्ता नम्बरको जग्गा दमक नगरपालिकाभित्रै पर्ने भन्दै सिटौलालाई पत्र दिएको छ । उक्त पत्र १३ असारमा सिटौलाले दमक नागरपालिकामा दर्तासमेत गराएकी छिन् । उक्त पत्र दर्ता भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले पुष्टि गरे । ‘दमक नगरपालिकाले दुई वर्षसम्म उद्योग दर्ता नगरिदिँदा म मर्कामा परेकी छु । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्न पनि नगरपालिकामा दर्ता हुनैपर्छ । उद्योग दर्ता नहुँदा पेवर ब्लक उत्पादन गर्नसकेकी छैन । संरचना काँसले पुरिएको छ । मेसिनमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ,’ सिटौलाले प्रश्न गरिन्, ‘डेढ करोड लगानी गरेको उद्योग डुब्यो । अहिले बैंकलाई ब्याज तिर्ने अवस्थासमेत छैन । यसको क्षतिपूर्ति कसले दिन्छ ?’

कमल गाउँपालिकाले उक्त जग्गा आफ्नोमा नपर्ने भन्दै दिएको पत्र दर्ता गरेको केही समयपछि सिटौला दमक नगरपालिका पुगेकी थिइन् । उनको पत्र नगर प्रमुख रामकुमार थापासम्म पुगेको जानकारी पाएको बताइन् । ‘नगर प्रमुखसम्म पुगेको छ रे ! उहाँले कार्यपालिका बैठकमा राख्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘नगर प्रमुखले यसअघि पनि यस्ता आश्वासन धेरै दिइसक्नुभएको छ । मलाई विश्वास छैन ।’

सिटौलाको उद्योग दर्ताका नहुनुकोे कारण सोध्दा ६ महिनाअघि दमक– १ का वडाध्यक्ष न्यौपानेले नयाँ पत्रिकासँग उक्त जग्गा कमल गाउँपालिकामा पर्ने भएका कारण सिफारिस दिन नसकिएको बताएका थिए । ‘मैले नै सर्जिमिन गर्न पनि पठाएको हो । तर, यो जग्गा कमल गाउँपालिकाको हो । कमल गाउँपालिकाको जग्गाको सिफारिस दिने अधिकार दमक नगरपालिका र म वडाध्यक्षलाई छैन,’ न्यौपानेले भनेका थिए ।

तर, कमल गाउँपालिकाले उक्त जग्गा दमक नगरपालिकामै पर्ने पत्र लेखेपछि भने वडाध्यक्ष न्यौपानेको बोली फेरिएको छ । उनले सिटौलाको जग्गामा रतुवा खोला बगिरहेको दाबी गरे । ‘मैले कमल गाउँपालिकाको पत्र पनि हेरेको छु । उहाँले संरचना बनाएको जग्गा रतुवा खोला उकास हो । यो जग्गा सरकारी हो,’ वडाध्यक्ष न्यौपानेले भने, ‘उहाँको नम्बरी जग्गामा अहिले पानी बगिरहेको छ । सिफारिस दिन नसक्नुको कारण त्यति हो । त्यही भएर सम्पत्ति कर लिन पनि रोक लगाएको हुँ ।’ उनले उद्योग दर्तामा बाधा गरेपछि सिटौला दमक नगर प्रमुख थापालाई पटक–पटक गुनासो गर्न गइन् । ‘धेरैपटक मेयरसमक्ष गुनासो गरेँ । सुरुमा वडाध्यक्ष मानेका छैनन्, पर्ख म मिलाएर गर्छु भन्नुभयो । अहिले त म मेरो कार्यकालभरि गर्दिनँ भन्नुहुन्छ,’ सिटौलाले भनिन् । तर, मेयर थापाले यो विषयको कार्यक्षेत्र वडाध्यक्षको भएको बताए ।nayapatrika bata savar

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ