सन्तोष शर्मा
बनियानी, २८ साउन । झापा रैथाने हात्तीको संख्या बृद्धि हुँदै गएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालतिर १०–१२ वटा संख्यामा रैथाने हात्ती रहेकोमा हाल उक्त संख्या ३० वटाभन्दा धेरै छ ।
advt
“भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्म रुपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या बृद्धि भएको पाइएको उहाँको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेको हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।
जिल्लामा धान, मकै लगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उहाँको भनाइ छ । “यसअघि कहिलै नपुग्ने ठाउँमा समेत हात्ती पुगिरहेको छ”, उहाँले भन्नुभयो, “महिनैपिच्छे फल्ने गरी मकै खेती हुन थालेको छ, जसले गर्दा हात्तीको उपद्रोव बढेको छ ।”
हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडक लगायतका संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईको भनाइ छ ।
मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि योजनाविद्हरुले विशेष गुरुयोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”
हात्ती समस्या न्यूनीकरणका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उहाँले बताउनुभयो । हात्ती समस्या न्यूनीकरणका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उहाँले भन्नुभयो, “हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयबासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।”
हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा रैथाने हात्तीको संख्या बृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेती बताउनुहुन्छ । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गर्नुभएको हात्ती प्रभावित क्षेत्रमा गर्नुभएको पदयात्राका क्रममा स्थानीयबासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको उहाँले सुनाउनुभयो ।
हात्तीलाई जंगलभित्रै राख्ने प्रयास
हात्तीलाई वन–जंगल भित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् ।
जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जंगलमा आठ वटा हात्ती आहाल निर्माण गरिएको छ । वन क्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार वटा हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । वनहरुमा केराका बिरुवा समेत रोपिएको छ ।
१४ वर्षमा ६८ जना र २१ वटा हात्तीको मृत्यु
झापामा आव २०६७/०६८ देखि आव २०८०/०८१ सम्म ६८ जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । मृत्यु भएका मानिसमध्ये ८ जना गैरनेपाली रहेका छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई रू नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका रैथाने हात्तीमध्ये १० वटाको नामाकरण समेत गरिएको छ । जिल्लामा रहेका रैथाने हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामाकरण गरिएको छ ।