+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दमकमा चिनियाँ राजदूत चेन सोङलाई भव्य स्वागत, चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण चाँडै सुरु हुने

बाटिका अनलाइन
२०८२ जेष्ठ ३०, बिहीबार

राजकुमार ओली दमक झापा

नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई प्रस्तावित चीन–नेपाल मैत्री औद्योगिक पार्कको अवलोकन भ्रमणका क्रममा झापामा नेपाली सांस्कृतिक परम्परा अनुसार भव्य स्वागत गरिएको छ।

राजदूत सोङलाई पार्कका अध्यक्ष गोविन्द थापा, प्रदेशसभा सदस्य होमबहादुर थापा, गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लगायत स्थानीयवासीहरूले नेपाली टोपी, फूलका गुच्छा र बाजागाजासहित भव्य रूपमा स्वागत गरे।

स्वागतका क्रममा झापावासीहरू विभिन्न स्थानमा बाजागाजा र पुष्पगुच्छा लिएर अग्रिम रूपमा तैनाथ भएका थिए। स्थानीय संस्कृति झल्किने परम्परागत बाजागाजासमेत बजाइएकाले समग्र कार्यक्रम उल्लासमय बनेको थियो।

यस अवसरमा राजदूत चेन सोङले चीन–नेपाल मैत्री औद्योगिक पार्कको निर्माण कार्य चाँडै सुरु हुने विश्वास व्यक्त गर्दै परियोजनाले नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउने उल्लेख गरे। उहाँले पार्कको एक नम्बर पिल्लरदेखि शिलान्यास स्थलसम्मको क्षेत्र समेत अवलोकन गरे।

पार्कका अध्यक्ष गोविन्द थापाले अधिकांश निर्माण कार्य पूरा भइसकेको र बाँकी कार्य पनि चाँडै सम्पन्न हुने जानकारी दिए।

स्वागत कार्यक्रममा हजारौं स्थानीयवासीहरूको उपस्थिति देखिन्थ्यो। राजदूत चेन सोङलाई झापाको बिर्तामोडस्थित गारामुनि स्कुल, अर्जुनधाराको सालबारी तथा इलामको पर्यटकीय स्थल कन्याममा समेत भव्य स्वागत गरिएको नेकपा एमाले कोशी प्रदेश वन तथा वातावरण विभागका सचिव पार्वता गौतम ले जानकारी दिए।

दमकमा निर्माणाधीन नेपाल–चीन औद्योगिक पार्क नेपालको औद्योगिक विकासको महत्वपूर्ण सम्भावना बोकेको परियोजना मानिन्छ। यो परियोजना नेपालका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष चासो र पहलमा अघि बढाइएको हो। पार्कको विकासले नेपाली औद्योगिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

चीन–नेपाल मैत्री औद्योगिक पार्कले दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ