+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पानीट्याङ्कीमै रोकियो फेरि नेपालको फ्लाइउड-व्यवसायी चिन्तामा

बाटिका अनलाइन
२०८२ भाद्र ४, बुधबार

राजकुमार ओली।, भदौ ४
भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी–रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले भन्सार ऐन १९६२ को धारा ११०(१) बमोजिम करिब तीन हजार थानभन्दा बढी प्लाईउड जफत गरेको जनाएको छ।

डि आर आईले उपलब्ध गराएको विवरणअनुसार सौरभ कुमार दास (ठेगाना : त्रिलोक्या नगर, बागडोग्रा) द्वारा आयात गरिएको सामानको बिल अफ एन्ट्री नम्बर ३७१९४३०, मिति २०८२ साउन २१ (६ अगस्ट २०२५) रहेको छ। विभागको अनुगमनका क्रममा प्लाईउडमा अनिवार्य रूपमा हुनुपर्ने चिन्ह, ट्रेडमार्क, उत्पादन मिति, मोटाई तथा गुणस्तर (ग्रेड) उल्लेख नभएको पाइएको छ।

कागजातमा एम आर ग्रेड भनेर घोषणा गरिएको भए पनि वास्तविक सामानमा बि डब्लु आर र बि डब्लु पि ग्रेड भेटिएको विभागले जनाएको छ। झापाको मेचीनगरस्थित झापा भेनियर एण्ड प्लाइउड उद्योग प्रालि मार्फत निर्यात भएको उक्त सामान आएएस : ७१० गुणस्तरका लागि आवश्यक भारतीय मापदण्ड संस्था (BIS) को प्रमाणपत्र विना रहेको पाइएको हो।

भारतले आफ्नो बजारमा भित्रिने काठ तथा प्लाई उत्पादनका लागि कडा मापदण्ड तोकेको छ। त्यसअनुसार भारतीय बजारमा बिक्री हुने सबै प्रकारका काठ तथा प्लाई उत्पादनमा BIS प्रमाणपत्र अनिवार्य, उत्पादनमा साइज, मोटाई, उत्पादन मिति, ब्याच नम्बर, कम्पनीको नाम वा ट्रेडमार्क स्पष्ट उल्लेख हुनुपर्ने प्रावधान छ। उपभोक्तालाई ठगी हुन नदिन घोषणा गरिएको गुणस्तर र वास्तविक वस्तुबीच फरक देखिएमा रोक लगाइन्छ।

यसरी नेपालबाट पठाइने प्लाईउड वा काठजन्य सामानले प्रावधान पूरा नगरेसम्म भारतीय बजार प्रवेश गर्न नपाउने स्थिति छ। झापा, मोरङलगायतका जिल्लामा सञ्चालित प्लाईउड उद्योगका लागि भारत प्रमुख बजार रहे पनि हालै कडाइका कारण व्यापारमा थप अवरोध देखिएको उद्योगीहरूले बताएका छन्। उनीहरूले यसलाई “अनावश्यक अवरोध” भनेका छन् भने भारतीय पक्षले भने “उपभोक्ता सुरक्षा र गुणस्तर नियन्त्रण” का लागि यो व्यवस्था आवश्यक रहेको दाबी गर्दै आएको छ।

डि आर आईले जफत गरिएको सामान भौतिक रूपमा लैजान कठिन भएकाले आयातकर्ता सौरभ कुमार दासकै जिम्मामा राख्ने आदेश दिएको छ। आदेशअनुसार बिना पूर्व अनुमति सामान बेच्न, प्रयोग गर्न वा अन्यत्र सार्न पाइने छैन। नियम उल्लङ्घन भएमा आयातकर्ताले जफत गरिएको सामानको मूल्य बराबर रकम र भन्सार शुल्क तिर्नुपर्ने विभागले जनाएको छ।

भारतले फेरि एक पटक झापाबाट पठाइएको ठूलो परिमाणको प्लाईउड रोक्दा दुई देशबीचको काठ तथा प्लाई व्यापारमा अवरोध देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ