+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल अलैँची व्यवसायी महासङ्घको अधिवेशन : अध्यक्षका दावेदार बिमली, नेपाल र चिमरियाबीच प्रतिस्पर्धा

बाटिका अनलाइन
२०८२ भाद्र ६, शुक्रबार

बिर्तामोड ६ भदौ (बाटिका अनलाइन)
नेपाल अलैँची व्यवसायी महासङ्घको आगामी साधारणसभा र निर्वाचन कार्यक्रम नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ। महासङ्घको अधिवेशन आगामी भदौ १४ गते साधारणसभा र १५ गते निर्वाचन गर्नेगरी तय भएको छ। यसपटक अध्यक्ष पदका लागि तीन प्रभावशाली व्यवसायीहरू—बिमली, नेपाल र चिमोरियाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

महासङ्घको विगत र संरचना

महासङ्घको स्थापना झण्डै दुई दशकअघि भएको हो। तत्कालीन समयमा सशस्त्र द्वन्द्वका कारण गाउँबाट खरिद गरी अन्तर्राष्ट्रिय बजारसम्म अलैँची पु¥याउन व्यवसायीहरूलाई असाध्यै कठिनाइ भएको थियो। त्यतिबेला व्यवसायीहरूको समस्यालाई संस्थागत समाधान दिने उद्देश्यले महासङ्घको स्थापना गरिएको थियो।

संघको पहिलो नेतृत्वमा राजेन्द्र घिमिरे संस्थापक अध्यक्ष बनेका थिए। त्यसपछि निर्मल भट्टराईले दुई कार्यकाल नेतृत्व गरे भने राजकुमार कार्कीले पनि अध्यक्ष भएर संघलाई सुदृढ बनाएका थिए। यसरी नेतृत्व हस्तान्तरण हुँदै आएको महासङ्घमा यसपटक नयाँ अध्यक्ष को हुने भन्ने उत्सुकता सदस्यहरूमा उच्च छ।

महासङ्घको विधानअनुसार, २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ। जसमा वरिष्ठ उपाध्यक्ष १ जना, कृषि तथा वाणिज्य उपाध्यक्ष १ जना, महिला उपाध्यक्ष १ जना, महासचिव, सचिव रहने प्रावधान छ। यसै संरचनाभित्र अध्यक्षको भूमिका प्रमुख र निर्णायक हुने भएकाले चुनावी प्रतिस्पर्धा विशेष महत्व राख्छ।

अध्यक्षका दावेदार र उनीहरूको दाबी

१. बिमली

बिमली यसपटक अध्यक्ष पदका बलिया दावेदार मानिएका छन्। उनी हाल नेपालबाट सबैभन्दा बढी आलैँची विदेश निर्यात गर्ने व्यवसायीका रूपमा परिचित छन्। विगतमा पनि उनी महासङ्घको अध्यक्ष पदका प्रतिस्पर्धी बनेका थिए। आफ्नो लामो अनुभव, अन्तर्राष्ट्रिय बजारमा कायम गरेको पहुँच र व्यावसायिक सञ्जालका कारण बिमलीले यसपटक आफ्नो दाबी बलियो रहेको बताएका छन्।

उनको भनाइमा, “नेपालको अलैँचीलाई विश्व बजारमा अझ मजबुत बनाउने योजनासहित मैले प्रतिस्पर्धामा प्रवेश गरेको हुँ। उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण सञ्जाललाई एकीकृत गर्नसक्ने क्षमता मेरो छ।”

२. नेपाल

नेपाल महासङ्घका संस्थापक उपाध्यक्ष हुन्। त्यसपछि उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत वहन गरिसकेका छन्। साथै उनी लामो समयदेखि उद्योग वाणिज्य संघमा आवद्ध हुँदै आएका छन्। यी सबै जिम्मेवारी र योगदानलाई आधार मानेर नेपालले यसपटक अध्यक्ष बन्ने दाबी प्रस्तुत गरेका छन्।

उनले भनेका छन्, “मैले महासङ्घको प्रारम्भदेखि नै योगदान दिएको छु। संरचना निर्माणदेखि संस्थागत विकासमा मेरो भूमिका छ। अहिले अनुभव, निरन्तरता र नेतृत्व क्षमता सबै हिसाबले म योग्य उम्मेदवार हुँ।”

नेपाललाई संगठनभित्र अनुभवयुक्त र निरन्तर योगदान दिने नेताका रूपमा लिइन्छ।

३. चिमोरिया

अर्का बलिया दावेदार चिमोरिया हुन्। उनी संगठनलाई अलैँची उत्पादन हुने झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका सबै जिल्लामा पुगेर प्रत्यक्ष काम गरेका व्यक्तित्व मानिन्छन्। यससँगै उनी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सजस्ता प्रमुख संस्थामा समेत नेतृत्व अनुभव हासिल गरिसकेका छन्।

महासङ्घका वर्तमान महासचिव समेत रहेका चिमरिया आफ्नो उम्मेदवारीबारे भनाइ राख्दै भने, “म अलैँची उत्पादन गर्ने किसानदेखि व्यापारीसम्म सबैसँग जोडिएको छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापारिक सञ्जाल विस्तार गर्ने क्षमताका कारण यसपटक महासङ्घको नेतृत्व म गर्नैपर्छ।”

उनी संगठनलाई मूल तहसम्म पु¥याउने र व्यवसायीहरूको वास्तविक समस्यामा हस्तक्षेप गर्ने नेताका रूपमा चित्रित हुन्छन्।

आगामी निर्वाचनमा मुख्य बहसका एजेन्डा

आगामी निर्वाचनमा उम्मेदवारहरूले प्रस्तुत गर्ने मुख्य एजेन्डा भने अलैँची व्यापारलाई निर्यातमुखी, पारदर्शी र किसानमैत्री बनाउनेतर्फ केन्द्रित हुने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य घटबढ, निर्यातमा भन्सार समस्या, भारतसँगको व्यापारिक असन्तुलन र सरकारी नीतिगत अस्पष्टताले व्यवसायीहरूलाई निरन्तर समस्या झेल्नुपरेको छ।

उम्मेदवारहरूले भारतबाहेक अन्य मुलुकमा बजार विस्तार गर्ने, मूल्यमा पारदर्शिता ल्याउने, किसानलाई उत्पादनमै प्रविधि उपलब्ध गराउने एजेन्डा उठाउने अपेक्षा गरिएको छ।

महासङ्घप्रतिको व्यवसायीको अपेक्षा

व्यवसायीहरूका अनुसार महासङ्घको नेतृत्वमा आउने व्यक्तिले :

किसानदेखि निर्यातकसम्म सबैको आवाज समेट्ने,

अलैँची बजार विस्तारका लागि सरकारीस्तरमा प्रभावकारी पहल गर्ने,

उत्पादनमा गुणस्तरीयता, प्याकेजिङ र ब्रान्डिङलाई प्राथमिकता दिने,

अन्तर्राष्ट्रिय मेला–प्रदर्शनीमा नेपालको अलैँचीलाई स्थापित गर्ने,
जस्ता कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता छ।

नतिजाप्रतिको उत्सुकता

अधिवेशन नजिकिँदै गर्दा सदस्यबीच चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू सक्रिय रूपमा भेटघाट, प्रचार–प्रसार र आ–आफ्नो योगदान प्रस्तुत गर्न व्यस्त छन्। व्यवसायीहरूले यसलाई संघको भविष्यको दिशानिर्देशक अधिवेशनका रूपमा हेरेका छन्।

अन्ततः अध्यक्ष पदमा को निर्वाचित हुन्छ भन्ने उत्सुकता उच्च रहँदै गएको छ। विगतका नेतृत्वले महासङ्घलाई सुदृढ पारेझैँ यसपटकको नेतृत्वले पनि अलैँची व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा अझै मजबुत बनाउनसक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ