+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दानाबारीमा कन्काई (माइ) नदी प्रणाली तहको समीक्षा गोष्ठी सम्पन्न

बाटिका अनलाइन
२०८२ कार्तिक २१, बिहीबार

सरु मिश्र, २० कात्तिक , बाटिका अनलाइन
पारिवारिक निजी वन सङ्घ नेपाल (एफोन नेपाल) को समन्वयमा इलामको माइ नगरपालिका–२ दानाबारीमा नदी प्रणाली तहको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बैठकमा निजी वन दर्ता प्रक्रिया, नीति तथा कानुनी संरचना, बिरुवा वितरण र समावेशी सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको हो ।

कार्यशालामा पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय न्यायिक समितिका सदस्य राजकुमार ओली, केन्द्रीय सदस्य भूमिका आचार्य, कोशी प्रदेश सदस्य अटल सिंह राई, माइ नगरपालिका सचिव सन्तोष राई, कन्काई नदी प्रणालीका प्रतिनिधिहरू, स्थानीय समूहका सदस्य तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यसूचीअनुसार कार्यशाला पछि बसेको बैठकमा निजी वन दर्ता प्रक्रियालाई सुदृढ पार्ने विषयमा प्राथमिक छलफल भएको केन्द्रीय समिति सदस्य भूमिका आचार्यले बताइन्। । सहभागीहरूले नदी प्रणाली अन्तर्गत रहेका समुदायहरूबाट कम्तीमा पाँच वटा निजी वन दर्ता गर्ने प्रक्रिया तत्काल पालिकास्तरमा अघि बढाउनुपर्नेमा जोड दिए । यस क्रममा निजी वन दर्ताका लागि आवश्यक कानुनी ढाँचा, नीति तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयका उपायहरूबारे नै समितिका केन्द्रीय सदस्य राजकुमार ओलीले जानकारी गराएका छन् ।

त्यस्तै, समूहहरूबाट माग गरिएको बिरुवाको तथ्याङ्क (डेटा) प्रमाणीकरण गर्ने कार्यप्रक्रिया र त्यसमा स्थानीय तहको भूमिका कस्तो हुने भन्ने विषयमा सहभागीबीच गहन छलफल भयो । बैठकले आगामी मौसमी वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सही तथ्याङ्क संकलन, स्थानीय प्रजातिका बिरुवाको छनोट र वितरणमा पारदर्शिता कायम गर्ने सिफारिस गरेको छ ।

छलफलका क्रममा बैठकमा महिलाको सहभागिता कम्तीमा ६० प्रतिशत सुनिश्चित गर्ने तथा दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति अनिवार्य गर्नुपर्ने निर्णय पनि गरियो । सहभागितामार्फत सबै समुदायको आवाज योजना निर्माण र कार्यान्वयनमा समेटिनु पर्नेमा जोड दिइयो ।

पारिवारिक निजी वन सङ्घ नेपालले परिवारस्तरबाट निजी वन संरक्षण, व्यवस्थापन र उपयोगका माध्यमबाट वनजङ्गलको दीगो संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ । सङ्घले स्थानीय समुदायमा वन व्यवस्थापनसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण, नदीजन्य प्रकोप नियन्त्रण तथा जैविक विविधताको संरक्षणमा समेत क्रियाशील भूमिका खेल्दै आएको बताइएको छ ।

बैठकमा नदीजन्य तथा बाढीप्रकोपका जोखिमबारे समेत छलफल गर्दै सहभागीहरूले नदी तटीय क्षेत्रहरूमा वृक्षरोपण, जैविक तटबन्ध, र स्थानीय समुदायलाई प्रकोप न्यूनीकरण प्रशिक्षणका माध्यमबाट सशक्त बनाउने आवश्यकता औँल्याए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले बैठकका निष्कर्ष र सिफारिसहरू समेटिएको प्रतिवेदन तयार गर्ने निर्णय गरेका छन् । बैठकको प्रतिवेदनमा उपस्थिति विवरण, कार्यविवरण (मिनेट्स), बैठकका फोटोहरू र निष्कर्ष तथा सिफारिसहरू को बारेमा सहजीकरण गरिएको थियो ।

पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय न्यायिक समितिका सदस्य ओलीले बैठकले स्थानीय तह र समुदायबीचको समन्वयलाई थप बलियो बनाएको बताए । उनका अनुसार कन्काई माई नदी प्रणाली नेटवर्कका माध्यमबाट समुदायस्तरमा निजी वन दर्ता र व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ