हेमराज निरौला /राजकुमार ओली ताप्लेजुङ
पूर्वी नेपालको सुदूर हिमाली भू–भागमा अवस्थित ताप्लेजुङ जिल्ला, भौगोलिक कठिनाइका कारण दशकौँदेखि नेपालको नक्सामा भए पनि चेतनामा ओझेल परेको ठाउँजस्तो देखिन्छ। तर यही ठाउँमा लुकेको छ, प्रकृतिले उकेरिदिएको अपूर्व सौन्दर्य, हिमाल–खर्क, ताल–झरना र याक–चौरीका बथानहरूको जीवित संस्कृति।
यही सौन्दर्यको खोजीमा हामी सात जनाको टोली ‘अप्पर ताप्लेजुङ भ्रमण दशक’ को सन्देशसहित नाङ्गोला पास हुँदै याङमा र ओलाङचुङगोला पुग्ने यात्रामा निस्कियौँ। हाम्रो उद्देश्य थियो — कठिन भूभाग पार गरेर पर्यटनका दृष्टिले अन्वेषणयोग्य यी बस्तीहरूको अवस्थाको अध्ययन गर्नु, तथ्यांक संकलन गर्नु र डकुमेन्ट्री निर्माणका लागि स्थलगत छायांकन गर्नु।
—
नाङ्गोला पास — साहस र सौन्दर्यको संगम
३२०० मिटर उचाइको फले गाउँबाट सुरु भएको हाम्रो यात्रा क्रमशः नाङ्गोला पास (४७०० मिटर) हुँदै अघि बढ्यो। नाङ्गोला पास ताप्लेजुङको सबैभन्दा चुनौतीपूर्ण र आकर्षक हिमाली मार्ग मानिन्छ। यहाँको चिसो हावामा चौरी र याकका बथानहरू रमाइरहेका देखिन्छन् भने वरिपरि ६००० मिटर आसपासका हिमचुचुराहरू घामका किरणमा झिलिमिली गर्दै चम्किरहेका थिए।
नाङ्गोला पास पार गरेपछि हामी सुम्दोम्मा टार, मार्साङ्ला पास र लाकुलुङ टार हुँदै याङमा बस्ती पुगेका थियौँ। बाटोभरि विशाल खर्क, फुल फुलेका पाखा र खुला आकाशमुनि देखिने ३६० डिग्रीको हिमाली दृश्य — कुनै पोस्टकार्डभन्दा कम थिएन।
याङमा पुग्दा यस्तो लाग्थ्यो, मानौँ समय केही वर्षदेखि यहीँ रोकिन पुगेको छ।
—
याङमा — हिमालको काखमा अल्झिएको गाउँ
४५०० मिटर उचाइमा अवस्थित याङमा बस्ती, पूर्वी नेपालको सबैभन्दा माथिल्लो मानव बस्ती हो। बस्तीमा जम्मा १४ घर धुरी छन्, तर हाल ९ घरमा मात्र १६/१७ जनाले बसोबास गर्छन्। यहाँको जीवन शैली सरल तर संघर्षपूर्ण छ। हरेक घरमा ५० देखि ६० वटा याक वा चौरी पालिन्छ।
तर पछिल्ला वर्षहरूमा चीनले टिप्ताला नाका बन्द गरेपछि याक र चौरी बिक्री हुन नसकेका कारण गाउँको मुख्य आम्दानी स्रोत ठप्प छ। “अब याक बेच्न नपाएपछि बस्ती खाली हुने खतरा छ,” स्थानीय नाम्ग्याल शेर्पाले चिन्ता व्यक्त गरे।
कहिल्यै सरकारी योजना र बजेट नपुगेको याङमा बस्तीमा वडा र केही गैरसरकारी संस्था बाहेक कसैले पनि चासो दिएको छैन। स्थानीयहरूले बताए अनुसार, “अहिले सम्म न त जनप्रतिनिधिहरू यहाँ आइपुगेका छन्, न त पर्यटन विभागका अधिकारी।”
तर प्रकृतिले भने यहाँ उदारतापूर्वक उपहार छरपस्ट छरेको छ।
—
छेर्चेन ताल — अलमलको आकर्षण
याङमा पुग्नुअघि ४५०० मिटरको उचाइमा पर्ने छेर्चेन तालले यात्रुहरूलाई केही बेर अलमलमा पार्छ। वरिपरि हिमालको प्रतिबिम्बसँग हरियो–निलो ताल झन् मोहक देखिन्छ। यहाँ पुग्ने जो कोहीलाई लाग्छ — यो शान्ति र सौन्दर्यको देवालय हो।
याङमा खोला पौव हिमतालबाट उदगम भएर यहीं आइपुग्दा केही बेर रोकिएर छेर्चेन ताल बनेको छ, त्यसपछि मात्रै याङमा बस्ती छेउबाट बग्दै तल झर्छ। यो अलमलमा परेको खोला, वास्तवमा अप्पर ताप्लेजुङको पर्यटन सम्भावनाको प्रतीक बनेको छ — शान्त तर शक्तिशाली।
—
ओलाङचुङगोला — इतिहास, संस्कृति र व्यापारको पहिचान
याङमाबाट करिब एक दिनको पैदल दूरीमा छ ओलाङचुङगोला — ताप्लेजुङकै सबैभन्दा चर्चित शेर्पा बस्ती। यो बस्तीको नाम सुन्दा नै हिमाली व्यापार, धार्मिक आस्था र सांस्कृतिक धरोहर झल्किन्छ।
पछिल्ला वर्षमा यहाँका केही घरहरूले होमस्टे सञ्चालन गर्न थालेका छन्। तिब्बती शैलीका घर, गोम्पा र परम्परागत शेर्पा संस्कृतिले पर्यटकलाई आकर्षित गर्छ।
तर यो बस्ती पनि याङमाजस्तै सीमित पहुँच र कमजोर पूर्वाधारको कारणले ओझेलमा परेको छ। सडक, संचार र स्वास्थ्य सेवा अभावमा यहाँका जनजीवन कठिन बनेको छ। स्थानीयहरूले भने, “पर्यटक आउँछन्, तर बाटो र आवासको सुविधा नहुँदा धेरै बस्दैनन्।”
तर, यिनै चुनौतीका बीच ओलाङचुङगोला र वरिपरिका गाउँहरूमा ‘सस्टेनेबल हिमालयन टुरिजम’ विकास गर्ने विशाल सम्भावना देखिन्छ।
—
पर्यटन सम्भावना र चुनौती
नाङ्गोला पास, याङमा र ओलाङचुङगोला जोड्ने यो सम्पूर्ण क्षेत्र हिमाली पर्यटनका लागि ‘हिड्नैपर्ने गन्तव्य’ हो। यहाँको प्रमुख आकर्षणहरू —
४ हजार मिटर माथिका विशाल खर्क र हिमतालहरू
छेर्चेन, पौव, नाङ्गामा पोखरी
परम्परागत शेर्पा बस्तीहरूको जीवनशैली
६००० मिटर आसपासका हिमालहरूको मनमोहक दृश्य
यी सबैले मिलेर यो क्षेत्रलाई ‘पूर्वी नेपालको अन्नपूर्ण सर्किट’ बन्ने सम्भावना देखाउँछन्।
तर सम्भावनासँगै चुनौती पनि छन्। सडक र संचार सुविधा न्यून छन्। आवास, स्वास्थ्य र आपतकालीन उद्धार प्रणाली अझै स्थापित छैन। मौसमको अनिश्चितता र सरकारी बेवास्ता पनि प्रमुख समस्या हुन्।
—
अप्पर ताप्लेजुङ भ्रमण दशक — आशाको झिल्का
२० असोज २०८२ मा सिङ्जेमा तालको किनारमा ‘अप्पर ताप्लेजुङ भ्रमण दशक’ घोषणा गरिएको थियो। यसको उद्देश्य नै यस्तै गुमनाम बस्तीहरूलाई पर्यटनको मुख्य धारा भित्र्याउने हो।
यस अभियानले याङमा, ओलाङचुङगोला, फले र घुन्सालाई एकै सांस्कृतिक र भौगोलिक सर्किटमा जोड्ने योजना बनाएको छ। यदि यो सफल भयो भने, केवल ताप्लेजुङ होइन, सिङ्जेमा तालदेखि कञ्चनजङ्घा बेसक्याम्पसम्मको सम्पूर्ण क्षेत्र विश्वस्तरको हिमाली पर्यटन गन्तव्य बन्न सक्छ।
तर यसको लागि स्थानीय सहभागिता, पूर्वाधार विकास र वातावरणीय संरक्षणमा समान ध्यान दिनुपर्ने आवश्यकता छ।