राजकुमार ओली १ चैत झापा:
झापामा सुरक्षित आप्रवासनका लागि सञ्चालित रेमि र सामी परियोजनाका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको देखिएको छ
। वैदेशिक रोजगारीमा जाने, फर्किने तथा उनीहरूको परिवारको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न झापामा रेमी र सामी सक्रिय देखिएको हो ।
पछिल्लो समय रेमी परियोजनाले झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूमा काम गरिरहेको छ भने विदेश जान लागेका र गएकाहरूमा सामीले काम गरिरहेको छ ।
मेचीनगर नगरपालिका अधिकृत एवं मनोविद सरस्वती मिश्रले पछिल्लो समय झापाबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा विभिन्न किसिमका मानसिक समस्या देखिएको र समस्या देखिएका नागरिकहरूमा रेमी परियोजनाले कमल गाउँपालिका र मेचीनगर नगरपालिकामा घरघरमै पुगेर डाटा सङ्कलन गरी समस्या भएका बिरामीहरूलाई सेवा दिइरहेको बताउनुभएको छ।
रेमी परियोजनाले अङ्गभङ्ग भई फर्किएका, अशक्त भई फर्किएका तथा विभिन्न किसिमका समस्याहरूबाट फर्किएका नागरिकहरूको निम्ति नेपालभर र कोशी प्रदेश र मधेस प्रदेशका २० वटा पालिकामा काम गर्दै आएको छ।
पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु भएको र ५४ जनाको अंगभंग भएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय झापासँग छ। उक्त डाटालाई सामीले समेत पुष्टि गरेको छ।
सामीका झापा जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस २६ गतेसम्ममा मात्रै ४२ जनाको विदेशमा मृत्यु भएको छ। २०७९/८० मा ४४ जना र २०८०/८१ मा ८० जनाले ज्यान गुमाएका छन अनि पूर्वी नाका मेचीनगर नगरपालिकामा मात्रै पनि ३० जनाको मृत्यु भएको देखिएको छ।
त्यस्तै, मेचीनगर नगरपालिकामा चार वर्षको अवधिमा ५४ जनाको अंगभंग भएको पाइएको छ भने चालु वर्षमा मात्रै १० जनाले अंगभंग भोग्नुपरेको छ ।
त्यस्तै ७९ साल यता दुई वर्षको बीचमा समेत ३३ जना नागरिक अंगभंग भएको तथ्याङ्क मेचीनगर नगरपालिकामा देखिएको हो।
संयोजक बुढाथोकीले २०८०/८१ मा झापाबाट ६ हजार ५२८ महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका जानकारी दिनुभएको हो। त्यस्तै कोशी प्रदेशबाट मात्रै सोही अवधिमा १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएका छन्।
विदेशमा रहेका नागरिकहरूबाट चालु आर्थिक वर्षको पुस महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ।
विगत लामो समयदेखि सामीले पुनः श्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको उपचार, अंगभंग र मृत्यु भएका परिवारलाई आर्थिक सहायता, सन्तति छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
मेचीनगर नगरपालिकाका वडास्तरमा पुगेर सचेतना, वित्तीय साक्षरता लगायतका कार्यक्रम सञ्चालन गरिरहेको सामिकका सहजकर्ता प्रमिला पाठकले जानकारी दिनुभएको हो।
अहिलेसम्म सामीको कार्यालयमा विदेशबाट फर्किएका र उनीहरूको परिवारका १ हजार ६४६ जनाले समस्या लिएर आएका छन्।