राजकुमार ओली,१६ कात्तिक (काठमाडौँ)
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) ले संस्थागत अभिमुखिकरण तथा संगठनको रणनीतिक योजनाको पुनरावलोकन बैठक सुरु गरेको छ। दुई दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन को कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, पूर्व महासचिवहरू तथा वर्तमान नेतृत्व उपस्थित रहेर संस्थाको अबको कार्यदिशा र शिक्षा क्षेत्रमा अभियानको भूमिकाबारे विस्तृत छलफल गरेका छन्।
बैठकमा संस्थाका पूर्व अध्यक्षहरू गौरी प्रधान, डा. बाबुराम अधिकारी, दीर्घ नारायण श्रेष्ठ, राजकुमार गन्धर्व, , निवर्तमान अध्यक्ष श्री राजेन्द्र पहाडी तथा पूर्व महासचिव लालबहादुर ओलीले एनसिई नेपालको ऐतिहासिक यात्रा, अनुभव र संस्थागत सिकाइबारे आफ्ना विचारहरू राख्नुभएको थियो। उहाँहरूले गत दुई दशकमा संगठनले देशको शैक्षिक रूपान्तरणमा खेलेको योगदान, चुनौती र सुधारका क्षेत्रबारे समीक्षा गर्नुभएको थियो।
उक्त अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष नवराज ओली ले शिक्षाको गुणस्तर सुधार र सबैका लागि समावेशी, न्यायपूर्ण शिक्षा सुनिश्चित गर्न अभियानले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षा केवल विद्यालयमा सीमित हुन हुँदैन, यो हरेक समुदाय, हरेक नागरिकको अधिकार हो। अभियानले राज्य, नागरिक समाज र सरोकारवालाबीच पुलको काम गर्दै शिक्षा क्षेत्रमा नीतिगत सुधारका लागि दबाब सिर्जना गर्दै आएको छ।”
अध्यक्ष ओलीका अनुसार अबको रणनीति स्थानीय सरकारसँग सहकार्य गर्दै आधारभूत र माध्यमिक शिक्षाको गुणस्तर सुधार, शिक्षक क्षमता अभिवृद्धि, बालबालिकाको विद्यालय पहुँच र सिकाइ उपलब्धिमा समान अवसर सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ। उहाँले आगामी वर्ष शिक्षा क्षेत्रमा हुने बजेटीय प्राथमिकता, नीति निर्माण र कार्यान्वयनमा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले विद्यालय शिक्षा सुधार, शिक्षक प्रशिक्षण, सामुदायिक विद्यालय सुदृढीकरण, विद्यालय बाहिर रहेका बालबालिकाको पुनः नाम दर्ता, र शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य (SDG-4) पूरा गर्न अभियानले अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। साथै, प्रदेश र स्थानीय तहमा एनसिई नेपालका शाखाहरूबीच कार्यसमन्वय र साझा कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रममा एनसिई नेपालका प्रतिनिधिहरू, विभिन्न शिक्षा विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो। बैठकको दोस्रो दिन आगामी आर्थिक वर्षका लागि कार्ययोजना, नीतिगत एजेन्डा र संस्थागत सुदृढीकरणका उपायहरूबारे विस्तृत छलफल गरिने जनाइएको छ।
शिक्षाको पहुँच र गुणस्तर दुवै पक्षमा समान महत्व दिनुपर्ने निष्कर्षसहित सम्पन्न भएको बैठकले एनसिई नेपालको भूमिका अझ सशक्त बनाउँदै शिक्षा क्षेत्रमा अधिकारका सवालमा प्रभावकारी हस्तक्षेप गर्ने प्रतिवद्धता जनाएको छ।