+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झाडी फाँडेर चिया खेती-पर्यटकीय सम्भावना बढ्दै

बाटिका अनलाइन
२०८२ जेष्ठ ९, बिहीबार

राजकुमार ओली,बागलुङ, काठेखोला –

झाडीले ढाकिएको पाखोबारीमा चिया खेती सुरु भएको केही वर्षमै उत्पादन दिन थालेपछि बागलुङका किसान दंग परेका छन्। काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालदेखि सुरु गरिएको चिया खेती अहिले व्यावसायिक रुप लिँदै गएको छ।

रेशको बौर, तिङरिङ लगायतका क्षेत्रमा हाल १६२ रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानले वातावरण संरक्षणसँगै आम्दानीको स्रोतसमेत बढाइदिएको छ। विद्यालय, सहकारी र स्थानीय समुदायको सहकार्यमा थालिएको यो खेती अहिले नमूना परियोजनाका रूपमा विकास हुँदै गएको हो।

जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर थापाका अनुसार रेशमा चिया खेतीको सुरुवात विद्यालयको ३५ रोपनी पाखोबारीबाट गरिएको थियो। “पहिला दाउराको लागि प्रयोग हुने बारी अहिले हरियाली चियाबगान बनेको छ,” उनले भने। विद्यालय आफैंले चियाका बिरुवा उत्पादन गरी बिक्रीसमेत गरिरहेको छ।

साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माका अनुसार सहकारीसँगै स्थानीय र विद्यालयको गरी १६२ रोपनी जग्गामा चिया खेती गरिएको छ। जसमध्ये हाल ७० रोपनी क्षेत्रफलको चियाले मात्र उत्पादन दिन थालेको छ। अन्य भागमा भने बिरुवा हुर्किरहेका छन्।

व्यवसायिक उत्पादन र उपकरणको प्रयोग

गत वर्ष परम्परागत शैलीबाट परीक्षणस्वरुप उत्पादन गरिएको चियालाई यसवर्ष स्थानीयले उपकरणको प्रयोग गर्दै व्यवसायिक स्तरमा उत्पादन गर्न थालेका छन्। रु. १८ लाख बराबरको चिया उत्पादन उपकरण स्थानीयवासीले आफैं रकम उठाएर खरिद गरेका छन्।

वडा नं. ७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार चियाका बिरुवा सुरुमा ताराखोलाबाट ल्याइएको भए पनि अहिले सहकारीले नै उत्पादन गरिरहेको छ। “गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले चिया खेतीमा उत्प्रेरणा दिएको हो,” लामिछानेले बताए।

उनका अनुसार चियाको गुणस्तर राम्रो भएकाले प्रति किलो ग्रिन चिया दुई हजार रुपैयाँभन्दा बढीमा बिक्री गर्न सकिनेछ।

चिया खेतीसँगै पर्यटकीय गन्तव्यको विकास

छ वर्षअघि वनमारा झारले ढाकिएको र उपयोगविहीन देखिएको पाखो अहिले हरियाली चियाबगानमा परिणत भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चियाबगान हेर्न र सामाजिक सञ्जालमा दृश्यहरू साझा गर्न आन्तरिक पर्यटकहरू रेश आउन थालेका छन्। अध्ययन, अनुसन्धान र अवलोकनका लागि विद्यार्थीहरूको चहलपहल पनि बढेको छ।

यही संभावनालाई ध्यानमा राख्दै काठेखोला–५ बिहुँको थामानेटामा पनि पहिलोपटक चियाखेती सुरु गरिएको वडा अध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए।

वातावरणीय प्रभाव र राष्ट्रिय सन्देश

बागलुङको रेशमा चियाखेतीले वन विनाश नगरी झाडी फाँडेर गरिएको खेतीबाट आयआर्जन र वातावरण संरक्षण दुबै सन्देश दिएको छ। यसले ‘हरियाली विकास’को सन्देश बोकेको नेपाली चियाको महत्त्व अझै बढाएको छ।

स्थानीय सरकारले थप ५० हजार चियाका बिरुवा रोप्ने योजना अघि सारेको छ। यसबाट रेश क्षेत्र चियाखेतीमा आत्मनिर्भर मात्र नभई निर्यातयोग्य उत्पादनको केन्द्र बन्दै जाने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ