+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनसुन पूर्वमै अलपत्र, कोशीमा वर्षा भएपछि रोकियो, तापक्रम चुलिंदै गर्दा तराईका बासिन्दा त्रस्त

बाटिका अनलाइन
२०८२ जेष्ठ २८, मंगलवार

राजकुमार ओली, २८ जेठ :काठमाडौँ
नेपालमा मनसुन यस वर्ष समयभन्दा अघिकै—जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। तर, कोशीमै छोटो समय टिकेर मनसुन पूर्वी एसिया फर्किएको छ।
बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायु कमजोर बनेको र फिलिपिन्सतिर बनेको बलियो न्यूनचापीय क्षेत्रले मनसुनी वायुलाई सोहोरिएर लगेपछि नेपालको पूर्वी भाग फेरि खडेरीमै परेको छ।

मनसुन सुरु भएसँगै जेठ १७ गते धरान–धनकुटा सडक बाढीले क्षतिग्रस्त बनायो, झापाको माईखोलाले २२ घर डुबायो। तर त्यसयता पानी परेको छैन। तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्दा तराईको जनजीवन कष्टकर बन्न थालेको छ। खेतबारी सुक्दै छन्, घामको तिब्रताले दिनमा बाहिर निस्कन मुस्किल भएको छ।

मनसुन ‘ब्रेक’ मा, तर असर गहिरो

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार, “मनसुन पूर्वी एसिया, विशेषगरी फिलिपिन्सतिर तानिएपछि कोशीबाट अन्यत्र फैलिन सकेन। बंगालको खाडीमा बनेको जलवाष्पयुक्त वायु कमजोर हुँदा अहिले मनसुन ब्रेकमा गएको अवस्था हो।”

यो अवस्था लामो समय रहेमा कतै अत्यधिक वर्षा र कतै खडेरी हुने जोखिम रहेको उनले बताए। यस्ता वर्षा असमान र चरम हुने हुँदा बाढी, पहिरो तथा ढिलो वर्षाले कृषि उत्पादनमा पनि असर पर्ने देखिन्छ।

तराईमा गर्मी र स्वास्थ्यमा असर

झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा दिनको चर्को घाम र रातको आर्द्रताले वृद्ध, बालबालिका र बिरामीहरूको स्वास्थ्यमा असर देखिन थालेको छ।
बिर्तामोडस्थित एक स्वास्थ्यकर्मीका अनुसार, “गर्मीका कारण डिहाइड्रेशन, घाम लाग्ने रोग (हीट स्ट्रोक), चक्कर लाग्ने जस्ता समस्या बढेका छन्। अस्पतालमा आउने बिरामीमध्ये धेरैजसोमा यस्तै लक्षण देखिएको छ।”

वातावरणीय उतारचढावका कारण कृषि, मजदुरी, यातायात र पढाइसमेत प्रभावित भएको स्थानीयवासी बताउँछन्। खेतमा सिँचाइ गर्न नपाउँदा किसान चिन्तित छन् भने विद्यालय जाने बालबालिकालाई पनि गर्मीले सताएको छ।

अब फेरि बदलीको संकेत

यद्यपि मौसमविद् झाका अनुसार भोलिदेखि देशका केही भागमा फेरि बदली सुरु हुनसक्ने सम्भावना छ। बंगालको खाडी र भारतको मध्य क्षेत्रमा फेरि न्यूनचापीय क्षेत्र विकास हुँदै गएकाले केही दिनमै पुनः वर्षा हुने संकेत देखिएको छ।

२० लाख जनसंख्या जोखिममा

यस वर्ष मौसम विभागले सामान्यभन्दा धेरै वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ। सोहीअनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २० लाखभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने भन्दै विपत् प्रतिक्रिया योजना लागू गरिसकेको छ।

प्रवक्ता रामबहादुर केसीका अनुसार, “प्रभावितमध्ये १० प्रतिशतलाई तत्काल राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारीमा जुटिएको छ।”

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ