राजकुमार ओली,काठमाडौं ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न ११ महत्वपूर्ण निर्णय गरेको छ। आइतबार (२०८२ माघ २) बसेको बैठकले प्राविधिक सरुवादेखि अन्तर्राष्ट्रिय अनुदान, आयोग गठन र जलविद्युत् आयोजनासम्मका निर्णय गरेको हो।
बैठकले नेपाल इन्जिनियरिङ् सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, रा.प्र. प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्बोलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय वा सो अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
मन्त्रिपरिषद्का निर्णयहरू
१. मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
२. स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
३. देवकुमार स्याङ्बोलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय वा सो अन्तर्गत पदस्थापन गर्ने।
४. जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत सुपरिन्टेन्डेन्ट इन्जिनियर सशीलचन्द्र देवकोटाको राजीनामा स्वीकृत गर्ने।
५. बुढी गण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने।
६. सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारी जाँचबुझ आयोग–२०८२’ गठन गर्ने।
७. नेपाली सेनाका एक सहायकरथीको सरुवा तथा एक महासेनानीलाई सहायकरथीमा बढुवा गर्ने।
८. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को उपाध्यक्षमा महोम्मद सफि उल्लाहा (रौतहट) लाई मनोनयन गर्ने।
९. जापानको टोकियोमा २०८२ फागुन १२ मा हुने Japan–Nepal Employment Conference मा सहभागी हुन श्रम सचिव डा. दिपक काफ्लेलाई स्वीकृति दिने।
१०. भुटानको थिम्पुमा फागुन ४–७ मा हुने Second Mountains Connect कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने।
११. थाइल्याण्डमा फागुन १२–१५ मा हुने 13th Asia Pacific Forum on Sustainable Development मा डा. श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताको स्वीकृति दिने।
सरकारले विकास, वातावरण, ऊर्जा र सुशासनसँग जोडिएका विषयमा एकैपटक महत्वपुर्ण निर्णयहरू अघि सारेको देखिएको छ।