राजकुमार ओली।,झापा, चन्द्रगढी ।
सामुदायिक वन व्यवस्थापनका क्रममा देखिँदै आएका विविध समस्याप्रति सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ। आज झापाको चन्द्रगढीमा सम्पन्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो विशेष साधारण सभामा सहभागी वक्ताहरूले सामुदायिक वनभित्र देखिएका समस्याहरू समाधानका लागि राज्य, स्थानीय तह र उपभोक्ता समूहबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।
डिभिजन वन कार्यालय झापाका वन अधिकृत परमेश्वर पासवानले सामुदायिक वनमा सालका रुख कटान, छपान प्रक्रिया तथा उपभोक्ता समूहभित्र देखिने व्यवस्थापनसम्बन्धी कमजोरीका कारण समस्या उत्पन्न भइरहेको बताउनुभयो। उहाँले वन संरक्षण र दिगो व्यवस्थापनका लागि कानुनी मापदण्डको पालना गर्दै सबै पक्ष मिलेर समस्या समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले सामुदायिक वनसँग सम्बन्धित समस्या केवल वन उपभोक्ता समूहको मात्र नभई स्थानीय सरकारको पनि सरोकारको विषय भएको बताउनुभयो। उहाँले उपभोक्ताहरूको मनमा देखिएका समस्या पहिचान गरी नगरपालिकाको तर्फबाट समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले सामुदायिक वन नेपालको पहिचान र उपलब्धि भएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने गतिविधि रोक्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले नीतिगत अस्पष्टता, कार्यान्वयनमा कमजोरी र समन्वयको अभावले समस्या जटिल बन्दै गएको धारणा राख्नुभयो।
त्यसैगरी भद्रपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष टेकबहादुर खड्का र वडा नम्बर ९ का वडा अध्यक्ष राम दाहालले सामुदायिक वनले स्थानीय विकासमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय तहले सहजीकरणको भूमिका निर्वाह गर्ने बताए। वनका पूर्व अध्यक्ष हिरा पोख्रेलले विगतका अभ्यास र अनुभवका आधारमा समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठक, स्वस्ति नन्दन सुवेदी तथा सामुदायिक वन उपभोक्ता महासंघ भद्रपुरका अध्यक्ष जीवन बास्तोलालगायत वक्ताहरूले सामुदायिक वनका समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारले नीतिगत तथा प्राविधिक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
तेस्रो विशेष साधारण सभा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अनुज खतिवडाको सभापतित्वमा तथा सचिव कमला शिवाकोटीको सञ्चालनमा देवकोटा चोकस्थित हलमा सम्पन्न भएको थियो। कार्यक्रममा सामुदायिक वनको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।