+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धुवाँले ढाक्यो काठमाडौंको आकाश, हावा निकै अस्वस्थकर

बाटिका अनलाइन
२०८१ चैत्र २०, बुधबार

अस्वस्थकर हावा कायमै रहेका वेला वनजंगलमा लागेको डढेलोको धुवाँसमेत आएर काठमाडौं उपत्यकाको आकाश ढाकेपछि वायु प्रदूषण उच्च भएको छ । धुलोधुवाँका कारण सोमबार र मंगलबार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा पर्‍यो । धुलोधुवाँ तल्लो वायुमण्डलमा तैरिएर बस्दा आँखा पोल्ने, घाँटी खसखसाउने र नाकबाट सिँगान बग्ने समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौंको हावामा मंगलबार साँझ औसतमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौँभन्दा तीन गुणा मसिना धुलोधुवाँका कण प्रतिघण्टा २२५ माइक्रोग्राम प्रतिघनमिटर मापन भएको छ । यो सूचकांक भक्तपुरमा २३७, रत्नपार्कमा २०९, शंखपार्कमा २०८ र भैँसेपाटीमा १९८ पुगेको वातावरण विभागका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक छ । एक्युआई १५१ देखि २०० पुग्दा सबै उमेर समूहकालाई अस्वस्थकर र २०१ देखि ३०० पुग्दा निकै अस्वस्थकर मानिन्छ । ‘आइक्यू एअर’को तथ्यांक हेर्दा शीर्ष पाँच उच्च प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा हुँदा दोस्रोमा म्यानमारको रंगुन, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भियतनामको हनोई र पाँचौँमा चीनको छेन्दु सहर छन् ।

‘प्रदूषित हावामा डढेलोको धुवाँ पनि मिसिदा जनस्वास्थ्यमा असर गर्नेगरी प्रदूषण बढेको हो । कार्बनमनोअक्साइड पनि फैलिएको छ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, ‘पोखरादेखि पूर्र्वी नेपालसम्मका वनजंगलमा धेरै डढेलो छ । चितवन, हेटौंडा र चुरेको जंगलमा लागेको डढेलो काठमाडौंको आकाशमा छ । काठमाडौंका वनजंगलमा पनि बेलाबेला डढेलो लागिरहेको छ ।’ लामिछानेले भनेझैं सोमबार १२९ र मंगलबार २४० ठाउँमा डढेलो थियो । चैत–वैशाखमा हावाहुरी चल्ने र सुक्खा धेरै हुने भएकाले डढेलोको ‘पिक सिजन’ पनि भनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिलेको अवस्थामा काठमाडौं वायु प्रदूषण घट्नका लागि वर्षा वा प्रतिघन्टा ३०–३५ नटका दरले हावा चल्नुपर्ने हुन्छ । ‘तर तत्काल पानी पर्ने सम्भावना छैन, हावा पनि साँझ बिहान औसतमा प्रतिघन्टा ८ देखि १० नटसम्म मात्र चलिरहेको छ,’ मौसमविद् झाले भने, ‘दिउँसो भने केही हावा चल्ने भएकाले (१० देखि १५ नटसम्म) त्यसबखत प्रदूषण केही घट्ने गरेको छ ।’ प्रतिनट १.८५२ किलोमिटर हुन्छ । झाले भनेझैँ हावा चल्दा मंगलबार दिउँसो १२:४५ मा काठमाडौंको एक्युआई १४३ मा झरेको थितयो । तर, बिहान ७:४५ बजे २७८ र साँझ ७:४५ बजे २३५ पुगेको थियो ।

काठमाडौंमा १३ र १४ मार्चपछि वर्षा भएको छैन । १४ मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षा मापन केन्द्रमा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यसपछि २२ र २३ मार्चमा उपत्यकाका केही ठाउँमा पानीको छिटासम्म परेको थियो ।

वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या
‘बिहान चिसोका कारण प्रदूषणका कण सतहमा हुन्छ । रसायन र धुलोधुँवाका कण नाकमुखबाट सिधै स्वास नलीमा जाने भएकाले प्रदूषण उच्च भएका बेला मर्निङवाक वा अन्य कामका लागि सकेसम्म घरबाहिर ननिस्कनु उचित हुन्छ,’ छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले भने । डा. पंगेनीका अनुसार कार्बनमनोअक्साड रसाइनका कारण शरीरमा अक्सिजनको मात्रा कम हुन्छ भने प्रदूषित हावाले फोक्सोको स्वास नलीलाई असर गर्छ । ‘घाटी खसखस हुने कालो र खैरी रंगको खकार निस्कने, छाती पोल्ने समस्या हुन्छ,’ यस्तो रसायन र हावा फोक्सोमा पुगेपछि दम, निमोनियाको जोखिम हुन्छ । पहिल्यै दम छ भने बल्झेर आइसियुसम्म पुग्नुपर्ने अवस्था आउनसक्छ । प्रदूषणका साना कण फोक्सोबाट पनि छिरेर शररीको विभिन्न अंगमा जानसक्छ । त्यही भएर अक्सिनको मात्रा कम हुने, घाँटी घ्यारघर भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।’ वायु प्रदूषणले बालबालिकामा निमोनिया निम्याउँछ । प्रदूषण उच्च भएको क्षेत्र र याममा सरकारले कोभिड–१९ का बखतझैं बालबालिकामा खोप अभियान चलाउन उपयुक्त हुने उनले बताए ।

वायु प्रदूषणले बालबालिकामा निमोनिया पनि निम्त्याउने भएकाले प्रदूषण उच्च भएका बेला संक्रमण फैलन नदिन सरकारले कोभिड–१९ का बखतझैं खोप अभियान चलाउन सक्ने उनको सुझाव छ ।

प्रदूषणका कारण नेपालीको औसत आयु ४.६ वर्षले घटाइरहेको विश्व स्वास्थ्य संगठनले यसअघि नै प्रतिवेदनमा उल्लेख गरिसकेको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण बर्सेनि ३५ हजारले ज्यान गुमाउँछन् । ‘आइक्यू एअर’को ‘विश्व वायु गुणस्तर प्रतिवेदन अनुसार गत वर्ष २०२४ मा नेपाल विश्वमै सातौँ अतिप्रदूषित मुलुक र काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको परेको थियो । पिएम–२.५ औसत ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ ।

‘डढेलाका कारण वायु प्रदूषण उच्च हुने त छँदैछ, त्यसबाहेक बर्खाबाहेक यहाँको हावा अस्वस्थकर नै हुन्छ,’ वातावरणविद् भुषण तुलाधरले भने, ‘सरकारले स्वच्छ ऊर्जा लगानी गर्नुपर्छ । दोस्रो, सार्वजनिक यातायात विद्युतीयमा जानुपर्छ । अहिले निजी विद्युतीय सवारीसाधन त बढेका छन् । तर, काठमाडौंमा दिनभर चल्ने र धेरै धुँवा फाल्ने सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सरकारले ऋण सुविधा बढाउनुपर्नेमा घटाइदिएको छ ।’ राष्ट्र बैंकले गत फागुनमा मात्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् यो सुविधा ८० प्रतिशतबाट ६० मा झारेको थियो ।

देशका अन्य क्षेत्रमा पनि प्रदूषण बढ्यो
काठमाडौं उपत्यकामात्र होइन देशका अन्य क्षेत्रमा पनि प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार मंगलबार साँझ एक्युआईको मात्रा धनगढीमा १७५, इलाममा १६७ र दाङमा १५२ पुगेको थियो । वायु गुणस्तर मापन केन्द्र देशभर २८ वटा रहे पनि तथ्यांक उपलब्ध छैन ।

वायु प्रदूषण नियन्त्रण विज्ञ भूपेन्द्र दास तराईमा गहुँको छवाली जलाउनुका साथै वनजंगलमा डढेलो लागेकाले उपत्यकाबाहिरका सहरमा पनि प्रदूषण बढेको बताउँछन् । ‘खासगरी तराई क्षेत्रमा प्रदूषण धेरै छ, भारतको उत्तरप्रदेश, हरियाणा, पञ्जाव र बिहारमा किसानले गहुँको छवाली जलाउदाको धुँवा पनि आइरहेको छ,’ उनले भने, ‘सुक्खा मौसम छ, पानी परेको छैन । त्यही भएर पनि प्रदूषण बढेको हो ।’

वातावरणविद् भुषण तुलाधर अहिलेको अवस्था निम्तिनुमा तीनवटा कारण देख्छन् । ‘डढेलाका कारण प्रदूषण थपिएको हो र चैत–वैशाखमा जहिल्यै डढेलो लाग्छ भनेर सरकारलाई थाहा नै छ,’ उनले भने, ‘तर पूर्वतयारी भएन ।’ उनका अनुसार डढेलो लाग्न नदिन उपभोक्ता समूह, संघसंस्था र पालिकाका वडा तहलाई परिचालन गरेर तालिम दिनुका साथै अग्नी रेखा बनाउनु पर्दथ्यो । ‘सानो डढेलो लाग्न वितिक्कै पनि निभाउन सक्नेगरी उपकरण पनि उपलब्ध गराउनु पर्दथ्यो,’ उनले भने । त्यस्तै, वनजंगलका सुकेका काठ र पातपतिंगर निकाल्ने र पातपतिंगरलाई इन्धन र कम्पोस्टमलका रूपमा प्रयोगका लागि अभियान चलाउनुपर्ने हो । त्यस्तै, डढेलो र आगलागीसम्बन्धी सचेतना र दण्डजरिवानाबारे जानकारी दिन अभियान चलाउनुपर्ने देखिन्छ ।

बिहान प्रदूषण धेरै छ, मर्निङवाक नजाँदा राम्रो
बालबालिकामा निमोनिया निम्त्याउन सक्छ, खोप अभियान चलाउनु उपयुक्त

डा. राजु पंगेनी, वरिष्ठ छातीरोग विशेषज्ञ
प्रदूषित हावामा रौँभन्दा तीन गुणा स–साना धुलोका कण हुन्छन् । यसबाहेक नाइट्रोजन अक्साइड, कार्बन मनोअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रेड सल्फेट रसायन पनि मिसिएको हुन्छ । कार्बन मनोअक्साइडले शरीरमा अक्सिजनको मात्रा घटाइदिन्छ । प्रदूषणले साधारण रुघाखोकीदेखि दमसम्मको जोखिम हुन्छ । मान्छेको आयु नै घटाउँछ । प्रदूषित कण श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुग्ने जोखिम हुन्छ ।

नाकदेखि फोक्सोको श्वासनलीलाई असर गर्छ । घाँटी खसखस हुने, छाती पोल्ने, कालो र खैरो रंगको खकार आउने हुन्छ । प्रदूषणका कण फोक्सोमा पुगेपछि दम, निमोनिया हुन्छ । दम बल्झेर आइसियूसम्म पुग्नुपर्ने हुन सक्छ । प्रदूषणका कण फोक्सोबाट पनि छिरेर शरीरको विभिन्न अंगमा जान सक्छन् । यसले मुटुको समस्या, पक्षघात हुने हुन्छ ।

फोक्सोको समस्या देखिएकालाई क्यान्सरको जोखिम हुन्छ । बालबालिकालाई फोक्सोसम्बन्धी समस्या र निमोनिया हुन सक्छ । बच्चा, रोगप्रतिरोधात्मक क्षमता कमजोर तथा दीर्घरोग भएकालाई किड्नी, फोक्सोमा समस्या गर्छ । थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्ने, फोहोर नजलाउने र धेरै धुवाँ फ्याँक्ने गाडी चलाउन रोक्नुपर्छ ।

बिहान चिसोका कारण प्रदूषणका कण सतहमा हुन्छन् । रसायन र धुलोधुवाँका कण नाकमुखबाट सोझै श्वासनलीमा जाने भएकाले प्रदूषण उच्च भएका वेला मर्निङवाक वा अन्य कामका लागि सकेसम्म घरबाहिर ननिस्कनु उचित हुन्छ । त्यस्तै, वायु प्रदूषणले घाँटी घ्यारघ्यार गराउने, बालबालिकामा निमोनिया निम्त्याउने, अक्सिजनको मात्रा कम हुनेजस्ता समस्या गराउँछ । प्रदूषण उच्च भएको क्षेत्र र याममा सरकारले कोभिड– १९ का वेलाजस्तै बालबालिकामा खोप अभियान चलाउन उपयुक्त हुन्छ ।nayapatrikabata savar

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ