+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्लाइउड उद्योगको बीआईएस प्रमाणपत्र नवीकरण गरेपछि व्यवसायी उत्साहित

बाटिका अनलाइन
२०८१ चैत्र २३, शनिबार

मेचीनगर, २३ चैत ।
नेपालका केही सिमेन्ट तथा प्लाइउड उद्योगको बीआईएस (ब्यूरो अफ इन्डियन स्टान्डर्ड्स) प्रमाणपत्र नवीकरण भएपछि भारततर्फको निर्यात पुनः खुल्ने भएको छ। बीआईएस नवीकरण नहुँदा पाँच महिनादेखि रोकिएको सिमेन्ट निर्यात र एक महिनादेखि अवरुद्ध प्लाइउड निर्यात पुनः सञ्चालनमा आउने भएको हो।

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार केही उद्योगको बीआईएस नवीकरण भइसकेको छ भने अन्य उद्योगहरूको नवीकरण प्रक्रिया अन्तिम चरणमा रहेको छ। हाल ३४ वटा प्लाइउड उद्योगले बीआईएस प्रमाणपत्र पाउन बाँकी रहेको छ। अध्यक्ष घिमिरेले बाँकी उद्योगमध्ये १५ उद्योगको नवीकरण एक महिनाभित्र सम्पन्न हुने जानकारी दिनुभयो। प्लाइउड एसोसिएसनको टोली अध्यक्ष घिमिरेको नेतृत्वमा भारत भ्रमणमा गई बीआईएससम्बन्धी अन्तर्राष्ट्रिय विषय हेर्ने प्रमुख अधिकारीहरूसँग छलफल गरेको थियो।

सिमेन्ट उद्योगको नवीकरण प्रक्रिया तीव्र

त्यस्तै, नेपालका सिमेन्ट उद्योगहरूको पनि बीआईएस प्रमाणपत्र नवीकरण भइरहेको छ। आधा दर्जनभन्दा बढी सिमेन्ट उद्योग एक महिनाभित्र बीआईएस प्रमाणपत्र प्राप्त गर्ने सूचीमा रहेको जनाइएको छ। प्रमाणपत्र नवीकरण प्रक्रियामा ढिलाइ हुँदा नेपालका सिमेन्ट, प्लाइउड तथा अन्य सामग्री बोकेका ट्रकहरू सीमा नाकामा रोकिएका थिए।

निर्यात रोकिँदा व्यवसायमा प्रत्यक्ष असर

भारतले बीआईएस प्रमाणपत्र अभावका कारण नेपालबाट आयात रोक्दा सिमेन्ट, प्लाइउड तथा स्टिलसहितका सामग्री बोकेका ट्रकहरू सीमामा अलपत्र परेका थिए। नेपालबाट भारततर्फ गएका ३४ ट्रक प्लाइउड भारतीय सीमा नाकामै रोकिएको थियो। निर्यात बन्द हुँदा नेपालका विभिन्न नाका जस्तै काँकडभिट्टा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज र विराटनगर हुँदै भारततर्फ पठाइने सामानको ढुवानी प्रभावित भएको थियो।

बीआईएस प्रमाणपत्र नवीकरणसँगै उद्योगी व्यवसायीहरूले राहत महसुस गरेका छन्। नेपाल-भारत व्यापार प्रवाहलाई सहज बनाइराख्न दुवै देशका सम्बन्धित निकायहरूबीच नियमित समन्वय आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ