+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काश्मिरमा पाकिस्तानी र भारतीय सेनाबीच गोलि हानाहान

बाटिका अनलाइन
२०८२ बैशाख १४, आईतवार

नयाँदिल्ली/इस्लामाबाद। आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा लगातार तेस्रो रातसम्म गोलीबारी भएको छ।
वर्षौंयताकै सबैभन्दा चिसिएको आपसी सम्बन्धबीच शनिबार राति पनि नियन्त्रण रेखा (एलओसी) आसपास दुवै देशका सेनाबीच गोली हानाहान भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।

भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल कश्मीर क्षेत्रमा हालै भएको आतंकवादी आक्रमणमा संलग्नतालाई लिएर ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ। उक्त घटनामा अप्रिल २२ तारिखमा पहलगामको एक पर्यटकीय क्षेत्रमा २६ जना पुरुषको हत्या गरिएको थियो। भारतीय प्रहरीले फरार बन्दुकधारीहरूमध्ये दुई जना पाकिस्तानी नागरिक भएको दाबी गरेको छ।

भारतीय सेनाले आइतबार एलओसीमा पाकिस्तानतर्फबाट साना हतियारमार्फत ‘अनावश्यक’ गोलीबारी भएको बताएको छ। सेनाका अनुसार भारतीय सैनिकहरूले उपयुक्त साना हतियार प्रयोग गरी प्रभावकारी जवाफ दिएका थिए। पाकिस्तानले भने पछिल्लो गोलीबारीको औपचारिक पुष्टि गरेको छैन।

यता भारतले घटनापछि पाकिस्तानसँगको मुख्य जलसम्झौता (पानी बाँडफाँट सन्धि) स्थगित गरेको छ। साथै मुख्य भूमि सीमा क्रसिङ बन्द गर्दै पाकिस्तानसँग कूटनीतिक सम्बन्ध घटाउने, पाकिस्तानी नागरिकहरूका लागि भिसा निलम्बन गर्ने निर्णय गरेको छ।

जवाफस्वरूप पाकिस्तानले पनि आफ्ना देशमा रहेका भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गरेको छ। साथै, सिख तीर्थयात्रीबाहेक अन्य भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्दै मुख्य सीमा क्रसिङ बन्द गरेको छ।

यो चर्किएको परिस्थितिमा संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह गर्दै समस्याको शान्तिपूर्ण समाधानका लागि ‘अर्थपूर्ण आपसी संवाद’ अघि बढाउन अपिल गरेको छ।

भारत र पाकिस्तानबीच पछिल्ला वर्षहरूमा पटक–पटक तनाव चर्किँदै आएको भए पनि अहिलेको अवस्था झन् जोखिमपूर्ण बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरू बताइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ