मेचीनगर, झापा – मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका स्थानीयवासी पछिल्लो एक सातादेखि जंगली चितुवाको डरले त्रसित छन्। दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवा राति स्थानीयको खोरमा प्रवेश गरी खसीबाख्रा मार्ने गरेको छ।
खसीबाख्रा मार्दै चितुवाको आतङ्क
वडाध्यक्ष अर्जुन कार्की का अनुसार चितुवाले हालसम्म ६ वटा खसीबाख्रा मारीसकेको छ। उनले भने, “चितुवा अहिलेसम्म चौपायामै सीमित देखिए पनि मानिसलाई आक्रमण नगर्ला भन्न सकिन्न। स्थानीय श्रमिकहरू र बाटो हिँड्नेहरू त्रासमा छन्।”
स्थानीय प्रशान्त पाण्डे ले चितुवाले मध्यरातमा खोरमा पसेर बयस्क खसीबाख्रा मारेको बताए। उनले प्रशासनलाई चितुवा नियन्त्रणको माग गरेका छन्। अर्का स्थानीय गणेशकुमार खड्का ले चितुवाको आक्रमणमा आफूले एउटा बाख्रा गुमाएको बताए।
चितुवा नियन्त्रणका लागि प्रयास जारी
वडाध्यक्ष कार्कीका अनुसार चितुवा नियन्त्रणका लागि जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याइएको छ। चितुवालाई थुन्न खोर थापिएको छ र निगरानी बढाइएको छ।
बाहुनडाँगीमा बन्यजन्तुको त्रास बढ्दै
बाहुनडाँगीका स्थानीय पहिले नै जंगली हात्तीको आतंकबाट प्रभावित थिए। पछिल्लो समय चितुवासँगै बाँदरको उपद्रो पनि बढेको छ। भारतसँग सीमा जोडिएको हुँदा त्यहाँको वन्यजन्तु आरक्षण क्षेत्रबाट चितुवा, बाघ, गौरीगाईजस्ता जनावर डुल्दै आउने गरेका छन्।
रातभर गस्ती सुरु
वडाध्यक्ष कार्कीका अनुसार स्थानीय प्रशासनले रेपिड रेस्पोन्स टिम (RRT) लाई चितुवा नियन्त्रणका लागि खटाएको छ। यस टिमले रातभर गस्ती गर्नेछ।
बिगतमा पनि चितुवा नियन्त्रण गरिएको थियो
७ वर्षअघि पनि बाहुनडाँगीमा चितुवा देखा परेको थियो। त्यसबेला खोरमा थुनेर नियन्त्रणमा लिइएको थियो। स्थानीयले यस पटक पनि प्रशासनले तत्काल उचित कदम चालोस् भन्ने अपेक्षा गरेका छन्।