+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झापामा १६ सय केजी गाजा बरामद: गिरोह खोज्दै प्रहरी

बाटिका अनलाइन
२०८१ चैत्र ९, शनिबार

झापा— नेपाल–भारत सीमामा लागू औषध तस्करी रोकथामका प्रयास तीव्र भइरहेका बेला तस्कर समूहले रुट परिवर्तन गरी नयाँ बाटो प्रयोग गर्न थालेको खुलासा भएको छ। धनकुटाबाट सुनसरी हुँदै मोरङका विभिन्न नाकाबाट भारत पठाउँदै आएको गाँजा हाल इलामको रुट हुँदै झापा प्रयोग गर्न थालिएको छ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले शुक्रबार दिउँसो ४:२० बजे झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा गरेको कारबाहीमा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ।

विशेष अभियानमार्फत बरामद

सशस्त्र प्रहरीको विशेष अनुगमन टोलीले इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका दुई मिनी ट्रक जाँच गर्दा ५७ वटा बोराभित्र लुकाइएका अवस्थामा ठूलो मात्रामा गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक विक्रम होमागाईँको कमान्डमा ६ जनाको टोली र नम्बर २ गण झापा मातहतको सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त टोलीले सो सफलता हात पारेको हो।

दुई जना पक्राउ, दुई जना फरार

उक्त कारबाहीमा संलग्न ४ जनामध्ये दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ का २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन्। फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ नगद र ५ थान मोबाइल बरामद गरिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

नयाँ रुट प्रयोग गर्दै तस्करी

सुनसरीमा हालैको दिनमा सयौँ केजी गाँजा बरामद भएपछि तस्कर समूहले नयाँ रणनीति अपनाएको सुरक्षा स्रोतको दाबी छ। पछिल्लो समय तस्करहरूले धनकुटाको गाँजा इलाम हुँदै झापाबाट भारत पठाउने रणनीति लिएको देखिएको छ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीले झापामा निगरानी बढाएपछि ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भएको हो। यस घटनाले लागू औषध तस्करी रोकथामका लागि सीमावर्ती क्षेत्रमा थप कडाइ आवश्यक रहेको संकेत दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ