राजकुमार ओली
झापा, चैत २९ – आर्थिक मन्दीको चुनौतीबीच झापाका उत्साही युवाहरूले बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना गरेका छन्। कम्पनीको औपचारिक उद्घाटन भोलि शनिबार कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गर्नेछन्।
आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कम्पनी स्थापनाका उद्देश्य, लगानी क्षेत्र र भावी योजनाबारे जानकारी दिइयो। कम्पनीका अध्यक्ष यामकुमार चुडालले यसलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता गरिएको बताउँदै यसको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको जानकारी दिए।
कम्पनीलाई सबल र सक्षम बनाउँदै पूर्वी नेपालको एक स्थापित लगानी कम्पनीका रूपमा परिचित गराउने उद्देश्य रहेको अध्यक्ष चुडालले बताए। पूँजी वृद्धिका लागि भविष्यमा राइट शेयर तथा आईपीओ निष्कासन गरिने योजना कम्पनीले अघि सारेको छ।
लगानीका प्रमुख क्षेत्रहरू
बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीले बैंक तथा वित्तीय संस्था, शेयर बजार, जग्गा-जमिन, हाउजिङ परियोजना, अपार्टमेन्ट, व्यापारिक कम्प्लेक्स, भौतिक पूर्वाधार निर्माण, जलविद्युत परियोजना, ठेक्का पट्टा, आयात-निर्यात, शिक्षा, स्वास्थ्य, सुरक्षा, हस्तकला, अनुसन्धान तथा कृषि क्षेत्रमा लगानी गर्ने जनाएको छ।
कम्पनीले विभिन्न संघ-संस्था तथा संगठित संस्थाहरूले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्का पट्टाको काम गर्ने लक्ष्य लिएको सञ्चालक समितिका सचिव दिनेशकुमार सुवेदीले जानकारी दिए।
गत असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बिर्तामोड वडा नं. ४ मा रजिष्ट्रर्ड कार्यालय रहने गरी स्थापना गरिएको कम्पनीमा विभिन्न क्षेत्रका ११४ जना लगानीकर्ताले सहभागिता जनाएका छन्।
नवस्थापित कम्पनीले पूर्वी नेपालको आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्दै रोजगारी सृजनामा योगदान दिने अपेक्षा गरिएको छ।