राजकुमार ओली विराटनगर
विश्वभर एकैसाथ मनाइएको ५३ औँ विश्व वातावरण दिवसको अवसरमा पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समितिको आयोजनामा सुनसरीको देवानगञ्ज–७ मा वृक्षारोपणसहित विविध कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्य कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले गर्नु भएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रामप्रसाद महतो तथा पारिवारिक निजी वन संघ नेपालको राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै कार्यक्रमलाई विभिन्न संस्थागत प्रायोजक संस्थाका प्रमुख व्यक्तित्वहरूको आतिथ्यले समेत गरिमामय बनाएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य संघका कोशी प्रदेश सचिव मनोज कुमार चौधरीले राख्नु भयो भने सञ्चालन उपसचिव लोकेन्द्र डाँगीले गर्नु भयो।
कार्यक्रम समन्वयमा एफेोनका वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे, कोशी प्रदेश सचिव मनोज चौधरी, सुनसरी अध्यक्ष मुकुन्द भट्टराई तथा भोजपुर अध्यक्ष जगदीश सापकोटाको विशेष भूमिका रहेको थियो।
कार्यक्रममा उपस्थित पत्रकार, सञ्चारकर्मी, वनप्रेमी नागरिकहरू तथा संघका सदस्यहरूप्रति कोशी प्रदेश समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
नेपालभर फैलियो संघको वातावरणीय अभियान
विश्व वातावरण दिवस–२०२५ मा पारिवारिक निजी वन संघ नेपालले केवल कोशी प्रदेशमा मात्र नभई देशभरका विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा समेत वृक्षारोपण, सरसफाइ, जनचेतना मूलक कार्यक्रमहरू आयोजना गर्दै वातावरण संरक्षणमा नागरिक तहको सहभागिता सुनिश्चित गर्ने कार्य गरेको छ।
कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्म, संघले आफ्ना जिल्ला र स्थानीय इकाइमार्फत स्थानीय वन उपभोक्ताहरू, विद्यालय, युवा क्लब, महिला समूह र सरोकारवालाहरूसँग समन्वय गरी जलवायु अनुकूलन तथा जैविक विविधता संरक्षणका पक्षमा सशक्त भूमिका खेलेको देखिएको छ।
विश्व वातावरण दिवसलाई अवसर बनाएर संघले “प्रकृति र जनता सँगसँगै” भन्ने नारालाई मूर्तरूप दिँदै सामुदायिक सचेतना, वृक्षारोपण, अवैध वन फँडानी रोकथाम तथा नीतिगत बहसको वातावरण समेत सिर्जना गरेको छ।
—
वातावरण संरक्षणमा नागरिक नेतृत्व
पारिवारिक निजी वन संघ नेपालको नेतृत्वमा गरिएको यो वातावरणीय अभियानले नीति निर्माण तहदेखि नागरिक स्तरसम्म वातावरण र वन संरक्षणको विषयमा जागरण ल्याउने संकेत देखिएको छ। संघका वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरेका अनुसार, “स्थानीय जनताको सहभागिता र नेतृत्वबिना वातावरण संरक्षण सम्भव छैन, हामी परिवारबाटै यो सुरुआत गर्दैछौं।”
संघले आगामी दिनमा अझ फराकिलो संरचना र सहकार्यमार्फत २०७९/८० देखि प्रारम्भ गरेको ‘हरियो घर, हरित भविष्य’ अभियानलाई निरन्तरता दिँदै पर्यटन, वन र वातावरणबीचको सम्बन्धलाई समेट्ने दीर्घकालीन कार्यक्रम अघि बढाउने जनाएको छ।