कन्याम (इलाम), बाटिका अनलाइन
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ नेतृत्वको टोली आज इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा पुगेको छ। टोलीले आन्तरिक पर्यटनको सम्भावना र विकासका लागि आवश्यक पूर्वाधार र सम्भावित लगानी क्षेत्रको अवलोकन गरेको छ।
चिनियाँ राजदूतको यो भ्रमण चीन–नेपाल मैत्री औद्योगिक पार्कको भ्रमणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनलाई समेत जोडेर गरिएको बताइएको छ। स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी र सर्वसाधारणले राजदूतको टोलीलाई कन्याममा भव्य स्वागत गरे।

पर्यटन प्रवर्द्धनका लागि चिनियाँ लगानीलाई समेत आकर्षित गर्न सकिने सम्भावनाका साथ यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। कन्यामको हरियाली चियाबगान, मनमोहक प्राकृतिक दृश्य र पहाडी संस्कृति चिनियाँ टोलीका लागि आकर्षण बनेका छन्।
यस अवसरमा राजदूत चेन सोङले नेपालमा आन्तरिक र बाह्य पर्यटन विस्तारका लागि चीन सधैं सकारात्मक रहेको बताउँदै पर्यटन पूर्वाधार विकासमा समेत सहकार्य गर्न सकिने संकेत गरेका छन्।
नेकपा एमाले कोशी प्रदेश वन तथा वातावरण विभागका सदस्य राजकुमार ओलीका अनुसार औद्योगिक पार्क निर्माणसँगै पर्यटन पूर्वाधारको विस्तारले पूर्वी नेपाललाई आर्थिकरूपमा थप सबल बनाउन मद्दत पुग्नेछ।
चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माणसँगै पर्यटन, व्यापार, रोजगारी र पूर्वाधार विकासलाई समेट्ने दीर्घकालीन रणनीतिका साथ दुवै देशका नेतृत्वबीच सहकार्य भइरहेका छन्।
कन्याम भ्रमणलाई पूर्वी पहाडका पर्यटकीय सम्भावनाको अवलोकन र लगानी प्रवर्द्धनको प्रारम्भिक प्रयासका रूपमा पनि हेरिएको छ।