नेपालको पहिलो फ्रीलान्सिङ प्लेटफर्म ‘याहां छ’ सार्वजनिक
काठमाडौं, १६ भदौ
नेपालमै पहिलोपटक फ्रीलान्सिङ प्लेटफर्म ‘याहां छ (Yahaan Chha)’ सोमबार बिर्तामोडमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
सफ्टवेयर विकासमा सक्रिय ‘रुट डेक्स’ (Rootdex) नामक कम्पनीले सञ्चालनमा ल्याएको यो प्लेटफर्मलाई नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ सेवा भएको दाबी गरिएको छ।
‘याहां छ’ प्लेटफर्मले नेपालभरिका फ्रीलान्सर र सेवाग्राहीलाई एउटै डिजिटल माध्यममार्फत जोड्ने उद्देश्य राखेको छ। उद्घाटन समारोहमा प्रस्तुत विवरणअनुसार यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न KYC, Finance, CSD, Dispute, IT, Marketing र Platform Moderator गरी सातवटा विभाग गठन गरिएको छ।
त्यसअनुसार KYC विभागले प्रयोगकर्ताको पहिचान सुरक्षित गर्ने, Finance विभागले भुक्तानी तथा खातासम्बन्धी कारोबार व्यवस्थापन गर्ने, CSD (Customer Support Desk) ले प्रयोगकर्ताको जिज्ञासा समाधान गर्ने, Dispute विभागले क्लाइन्ट र फ्रीलान्सरबीचको विवादलाई न्यायसंगत रूपमा समाधान गर्ने जिम्मेवारी लिनेछ। यस्तै, IT विभागले प्रविधिलाई सुरक्षित र भरपर्दो बनाउने, Marketing विभागले ब्रान्ड प्रवर्द्धन गर्ने तथा Platform Moderator ले सम्पूर्ण गतिविधिको निगरानी गर्ने बताइएको छ।
प्लेटफर्मका सञ्चालकमा रविन थापा, योगेश भण्डारी, नवीन कार्की, गोपाल पौडेल र कुमार चापगाई रहेका छन्।
उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईँले ‘याहां छ’ को उद्घाटन गर्नुभयो। उहाँले डिजिटल प्रविधिको विकासमार्फत रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख विजय श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतले शुभकामना मन्तव्य राख्दै नेपालमा सञ्चार र सूचना–प्रविधि क्षेत्रमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो।
रुटडिभ सफ्टवेयर कम्पनीले आयोजना गरेको कार्यक्रममा डिजिटल पेमेन्ट एप ‘खल्ती’ सँग पार्टनरसिपमा सहकार्य गरिएको जानकारी आयोजक पदम श्रेष्ठले दिनुभयो।
आयोजकहरूले ‘याहां छ’ ले युवापुस्तालाई स्वदेशमै अवसर दिलाउने र नेपाललाई फ्रीलान्सिङ बजारमा नयाँ ढंगले परिचित गराउने विश्वास व्यक्त गरेका छन्।