राजकुमार ओली।,दमक, ५ मङ्सिर (बाटिका अनलाइन)
दमक–९ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन सामूहिक पहल अनिवार्य रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
वि.सं. २०२४ सालमा स्थापना भएको यस विद्यालयकाअनुसार करिब १३ बिघाभन्दा बढी क्षेत्रफल रहेको विद्यालयको जग्गामध्ये १ सय ३४ जग्गाधनीले विभिन्न भागमा दीर्घकालदेखि अतिक्रमण गरी कब्जा जमाउँदै आएको पाइएको छ। जग्गा विवादका कारण विद्यालयको दीर्घकालीन योजना, भौतिक पूर्वाधार विस्तार र आम्दानी स्रोतमा निरन्तर अवरोध हुँदै आएको समितिको भनाइ छ।
हालै सम्पन्न विद्यालय व्यवस्थापन समिति पुनर्गठनमा गगन पुरी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले एक समारोहका बीच पुरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा समितिका सदस्य, शिक्षक, अभिभावक, स्थानीय अगुवा तथा पूर्वविद्यार्थीको उपस्थिति थियो।
शपथ ग्रहणपछि अध्यक्ष पुरीले विद्यालयको जग्गा संरक्षण, शैक्षिक सुधार र भौतिक पूर्वाधार विस्तारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताए। “जसरी पनि अतिक्रमित जग्गा फिर्ता ल्याउँछौँ,” अध्यक्ष पुरीले भने, “विद्यालयको भविष्य सुरक्षित राख्न नगरपालिकादेखि नापी कार्यालयसम्म सबै तहको सहकार्य आवश्यक छ।” उनका अनुसार विद्यालयको नाममा रहेको जग्गा नापजाँच गरी धनीपुस्तिका र अभिलेखअनुसार स्वामित्व कायम गराई विद्यालयले आफ्नै उपयोगमा ल्याउने प्रक्रिया तत्काल अघि बढाइनेछ।
विगतमा विद्यालयको केही जग्गा एक निजी बोर्डिङ स्कूललाई लिजमा दिइएकाे र सो संस्थाले तय समयमा छोड्न नमानेपछि वर्षाैंदेखि विवाद चर्किएको स्मरण गर्दै समितिका सदस्य तथा दमक–९ का वडा अध्यक्ष कुबेर भट्टराईले विद्यालयले निरन्तर चुनौती सामना गर्नुपरेको बताए। उनका अनुसार अतिक्रमित जग्गाले विद्यालयको आयस्रोत सीमित बनाएको, खेलमैदान र प्रयोगशाला जस्ता आवश्यक संरचना निर्माणमा अवरोध पुर्याएको तथा विद्यार्थी संख्यामाथि प्रभाव पारेको छ।
विद्यालयको समग्र शैक्षिक अवस्था सुधार गर्दै कोशी प्रदेशमै उत्कृष्ट शिक्षा प्रदान गर्ने लक्ष्यसहित सरस्वती माविले पछिल्ला वर्षमा विशेष कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। विद्यालयमा सामान्य कक्षा बाहेक अटिजम तथा अन्य सीप–आधारित सहयोग आवश्यकताका बालबालिकाका लागि ‘सपोर्ट क्लास’ सञ्चालन हुँदै आएको छ। शिक्षक तालिम, अभिभावक सचेतना तथा विद्यार्थीमैत्री वातावरण विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको शिक्षकहरूले बताएका छन्। विद्यालय व्यवस्थापनका अनुसार अटिजम भएका बालबालिकाका लागि छुट्टै सिकाइ सामग्री, व्यवहारिक गतिविधि र मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइने तयारी छ।
अध्यक्ष पुरीले आफ्नो कार्यकालमा अटिजम तथा विशेष आवश्यकताका विद्यार्थीलाई लक्षित कार्यक्रम विस्तार गर्दै विद्यालयलाई कोशी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा विकास गर्ने योजना रहेको बताए। उनका अनुसार समावेशी शिक्षासँगै गुणस्तरीय प्राविधिक शिक्षा, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला विस्तार, पुस्तकालय आधुनिकीकरण तथा खेलकुद संरचना स्तरोन्नतिको काम पनि प्राथमिकतामा पर्छ।
विद्यालयले समुदाय–विद्यालय साझेदारी मजबुत बनाउने, स्थानीय तहमार्फत स्रोत परिचालन गर्ने तथा सरोकारवाला सबैको सहभागितामा अतिक्रमित जग्गा फिर्ता ल्याई विद्यालयको भविष्य सुरक्षित गर्ने समितिको लक्ष्य छ। “विद्यालय समुदायकै संयुक्त धरोहर हो, यसको संरक्षण सबैको सामूहिक जिम्मेवारी हो,” अध्यक्ष पुरीले भने।