+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणचोक जयपुर सडक स्तरवृद्धिले फेरियो स्थानीय नागरिकको दैनिकी

बाटिका अनलाइन
२०८२ फाल्गुन १६, शनिबार

राजकुमार ओली जयपुर १६ फागुन (बाटिका अनलाइन)
झापाको बिर्तामोड चोकबाट शनिश्चरे बजार हुँदै नारायणचोक, रबर प्लान्ट क्षेत्र पार गर्दै जयपुर जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे भएपछि उत्तरी झापाको विकासले नयाँ फड्को मारेको स्थानीयवासीले बताएका छन्। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिर्तामोड बजार विस्तारसँगै ओझेलमा परेको नारायणचोक पछिल्ला वर्षमा पुनः चहलपहलमा फर्किएको छ।
बिर्तामोड–खुदुनावारी सडक निर्माणसँगै नारायणचोकबाट जयपुर जाने खण्डको स्तरवृद्धि र कालोपत्रे गरिएपछि बजार क्षेत्रको स्वरूप फेरिएको स्थानीय अगुवा बसन्त मल्लले बताउनुभयो। “पञ्चायती कालमै मुख्य बजारका रूपमा परिचित नारायणचोक पछिल्लो समय बिर्तामोड बजार बढेसँगै छायामा परेको थियो,” उहाँले भन्नुभयो, “अहिले सडक बनेपछि यहाँको बजार माहोल फेरिएको छ, जनजीवन सहज भएको छ।”
आफ्ना बुबा पश्चिमबाट जागिरे जीवनका क्रममा इलाम आएपछि नारायणचोकमै बसोबास गर्दै बाँकी जीवन बिताएको स्मरण गर्दै मल्लले आफू यही जन्मिएको र यहीँ हुर्किएको बताउनुभयो। लामो समयदेखि सोही चोकमा व्यवसाय गर्दै आउनुभएका उहाँले धुलो र अव्यवस्थित सडकका कारण वर्षौंदेखि व्यवसाय सञ्चालनमा कठिनाइ झेल्नुपरेको अनुभव सुनाउनुभयो। “बल्ल–बल्ल यहाँका व्यवसायी धुलो र हिलोको शास्तीबाट मुक्त भएका छन्,” उहाँले भन्नुभयो, “सडक कालोपत्रे भएपछि ग्राहकको आवतजावत बढेको छ, पसल अगाडिको वातावरण सफा र व्यवस्थित बनेको छ।”

स्थानीय अमृता मल्लले पनि सडक स्तरोन्नतिले घरपरिवारको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। “पहिले सडकमा सधैँ धुलो उड्थ्यो, भान्सामा काम गर्नसमेत असहज हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले कालोपत्रे सडक भएपछि फोहर–मैला र धुलोबाट मुक्ति मिलेको छ, घरधन्दा चलाउन सजिलो भएको छ।” उहाँका अनुसार सडक सुधारसँगै सरसफाइमा सुधार आएको र बालबालिकाको स्वास्थ्यमा समेत सकारात्मक असर परेको छ।
जयपुर चोकका स्थानीय नेत्र गौतमले सडक बनेपछि जयपुर हुँदै इलामका दक्षिणी भेग तथा बुधबारे क्षेत्रका बासिन्दालाई बिर्तामोड आउन–जान सहज भएको बताउनुभयो। “पहिले वर्षातको समयमा सडक बिग्रन्थ्यो, सवारीसाधन चल्न गाह्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले नियमित सवारी सञ्चालन हुन्छ, कृषि उपज बजारसम्म पुर्‍याउन सजिलो भएको छ।” उहाँका अनुसार तरकारी, दुग्धजन्य पदार्थ र अन्य कृषि उत्पादन समयमै बजार पुग्दा किसानले उचित मूल्य पाउन थालेका छन्।
जयपुर चोकमा लामो समयदेखि व्यापार गर्दै आउनुभएका सेरबहादुर कडरियाले पनि सडक विकासले स्थानीय अर्थतन्त्र चलायमान बनेको बताउनुभयो। “हिजो सानो गल्ली जस्तो देखिने ठाउँ आज विस्तारै ठूलो चोक र बजारमा परिणत हुँदै गएको छ,” उहाँले भन्नुभयो, “ग्राहक बढेका छन्, व्यापार फस्टाउँदै गएको छ।” उहाँले जनप्रतिनिधिको पहल र स्थानीयको सहकार्यबाट सम्भव भएको विकासले थप ऊर्जा दिएको उल्लेख गर्नुभयो।
उत्तरी झापाका ग्रामीण बस्तीलाई बिर्तामोड बजारसँग जोड्ने यो सडकले कृषि र अन्य पेशामा संलग्न समुदायलाई विशेष लाभ पुगेको जनाइएको छ। बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले सडक स्तरोन्नतिले ग्रामीण क्षेत्रका कृषक, मजदुर र साना उद्यमीलाई सहजता प्रदान गरेको बताउनुभयो। “हाम्रो सङ्घर्ष र सहयोगबाट रबर प्लान्ट क्षेत्र हुँदै नारायणचोक–शनिश्चरे बजार जोडिने सडक व्यवस्थित बनेको हो,” उहाँले भन्नुभयो, “यसले गाउँ र बजारबीचको दूरी घटाएको छ।”
उहाँका अनुसार सडक सञ्जाल विस्तारसँगै ग्रामीण उत्पादनको बजारीकरणमा सहजता आएको छ। किसानले तरकारी, फलफूल, चिया, दुग्धजन्य पदार्थ र अन्य कृषि उपज छिटो र सुरक्षित रूपमा बजारसम्म पुर्‍याउन सकेका छन्। यातायात खर्च घट्दा उत्पादन लागतमा कमी आई किसानको आम्दानीमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमजेनले पनि सडक विकासले उत्तरी झापाका बासिन्दालाई बिर्तामोडसम्म आउन सहज भएको बताउनुभयो। “पहिले वैकल्पिक मार्गको अभावमा स्थानीयलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो,” उहाँले भन्नुभयो, “अहिले सीधा र स्तरीय सडक भएपछि समय र खर्च दुवै बचत भएको छ।” उहाँका अनुसार सडक विकाससँगै शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवामा पहुँच विस्तार भएको छ।
स्थानीयवासीका भनाइमा, सडक कालोपत्रे भएपछि यातायात नियमित भएको, दुर्घटना जोखिम घटेको र बजार क्षेत्र व्यवस्थित बन्दै गएको छ। धुलो र हिलोबाट मुक्त भएपछि घर–व्यवसाय सञ्चालनमा सहजता आएको तथा वातावरणीय सरसफाइमा सुधार देखिएको छ।
नारायणचोक–जयपुर सडक खण्डको स्तरोन्नतिले केवल आवागमन सहज बनाएको मात्र नभई स्थानीय अर्थतन्त्रमा चलायमानता ल्याएको सरोकारवालाको भनाइ छ। बजार विस्तारसँगै साना होटल, किराना पसल, कृषि सामग्री पसल र सेवा व्यवसाय बढ्न थालेका छन्। यसले रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याएको स्थानीय बताउँछन्।
यसरी बिर्तामोड चोकदेखि शनिश्चरे, नारायणचोक हुँदै जयपुर जोड्ने सडकले उत्तरी झापाको सामाजिक तथा आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको देखिएको छ। कृषि उपजको सहज बजारीकरण, व्यवसाय विस्तार र दैनिक जीवनयापनमा आएको सुधारले स्थानीयवासी उत्साहित बनेका छन्। सरोकारवाला निकायले सडकको नियमित मर्मतसम्भार र थप पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको समग्र विकासमा अझ टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ