झापामा महिला प्रहरीका रूपमा पहिलो पटक जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने बताएकी छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उच्च मनोबलका साथ सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिइन्। उनले चुनावी सुरक्षा योजना, खुला सीमा नाका, तस्करी तथा लागूऔषध नियन्त्रणलाई प्रहरीको प्रमुख प्राथमिकतामा राखिएको बताइन्।
यसअघि झापाका प्रहरी उपरीक्षक रहेका राजन लिम्बूको काठमाडौं सरुवा भएपछि जिल्लाको ४७ औँ एसपीका रूपमा खड्का झापा आएकी हुन्। उनले निर्वाचन अवधिभर हुने प्रत्येक गतिविधिलाई सूक्ष्म रूपमा अध्ययन गरी गाउँ–गाउँमा सादा पोसाकका प्रहरी परिचालन गरिने बताइन्। उम्मेदवार वा निर्वाचनसँग सम्बन्धित व्यक्तिहरूलाई कुनै किसिमको धम्की वा शंकास्पद गतिविधि देखिएमा तत्काल सादा पोसाकका प्रहरी परिचालन गरिने उनको भनाइ छ।
एसपी खड्काका अनुसार हाल जिल्लामा करिब १२ सय प्रहरी कार्यरत छन् भने आवश्यकताअनुसार थप सुरक्षाकर्मी पनि माग गरिएको छ। झापाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँगको समन्वयमा जिल्ला प्रहरी, अन्य सुरक्षा निकाय तथा सुरक्षाफौजहरूले आ–आफ्नो जिम्मेवारीअनुसार निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिइन्।
पत्रकार भेटघाटका क्रममा एसपी खड्काले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हराइरहेका १६ नाल बन्दुक तथा फरार थुनुवाहरूको खोजी कार्य अझै जारी रहेको बताइन्। लाइसेन्स प्राप्त हतियारबाहेक हराएका हतियार तथा फरार थुनुवाबाट निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिनेमा प्रहरी र सुरक्षाकर्मी पूर्ण रूपमा सतर्क रहेको उनको भनाइ छ।
उनले नेपाल–भारत खुला सीमा नाकाबाट हुने चोरी पैठारी, लागूऔषध ओसारपसार तथा विभिन्न प्रकारका तस्करी नियन्त्रण गरिने दाबी गरिन्। सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखेर नियमित गस्ती र चेकजाँचलाई तीव्र बनाइने पनि उनले बताइन्।
एसपी खड्काले एसपी भएपछि तेस्रो जिल्लाको कमाण्ड सम्हाल्दै झापा आएको जानकारी दिँदै जिल्लामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध नियन्त्रण र न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्। पत्रकार सम्मेलनको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खगेन्द्रकुमार खड्काले गरेका थिए।