+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झापा १ मा बढ्यो चुनावी सरगर्मी: उप्रेती, पाण्डे र डाँगीबीच कडा प्रतिस्पर्धा

बाटिका अनलाइन
२०८२ फाल्गुन १८, सोमबार

राजकुमार ओली मेचीनगर फागुन १८ (बाटिका अनलाइन)
झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। प्रमुख दलहरू संगठन सुदृढीकरण र मतदाता भेटघाटमा केन्द्रित हुँदा यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको चित्र देखिएको छ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा विश्वप्रकाश शर्मा विजयी भएका थिए। यसपटक भने नेपाली कांग्रेस ले जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ भने नेकपा एमाले ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई मैदानमा उतारेको छ। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ। यसबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारसमेत चुनावी प्रतिस्पर्धामा छन्।
एमाले उम्मेदवार उप्रेतीले आफूले मेचीनगर र बुद्धशान्ति क्षेत्रमा कृषि, सहकारी तथा स्थानीय विकासका विषयमा काम गरेको उल्लेख गर्दै जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गर्नुभयो। “कृषिमा आधुनिकीकरण र हात्ती प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि स्पष्ट योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “स्थानीय मुद्दा समाधान गर्ने प्रतिबद्धताका आधारमा मतदाताले साथ दिनेमा विश्वस्त छु।”
कांग्रेस उम्मेदवार पाण्डेले लोकतान्त्रिक मूल्य, सुशासन र आर्थिक चलायमानता आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो। “सीमा क्षेत्रको व्यापार, उद्योग र व्यवसाय प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ,” उहाँले भन्नुभयो, “झापा–१ मा विकासको निरन्तरता र स्थायित्वका लागि जनताले कांग्रेसलाई रोज्ने विश्वास लिएको छु।”
रास्वपाकी उम्मेदवार डाँगीले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै घरदैलो अभियान अघि बढाएको जनाइएको छ। मतदातामाझ पुराना दलप्रति देखिएको असन्तुष्टिलाई विकल्पमा रूपान्तरण गर्ने प्रयासमा पार्टी सक्रिय देखिन्छ।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेका छन्। तीमध्ये ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् भने १० हजारभन्दा बढी नयाँ मतदाता यसपटक निर्णायक शक्तिका रूपमा रहेका छन्। क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र निर्धारण गरिएको छ।
मेचीनगर नगरपालिकाका सबै वडा, बुद्धशान्ति गाउँपालिकाका चार वडा तथा भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको यस क्षेत्रमा चिया किसान, सहकारीकर्मी, साना व्यवसायी र युवा मतदाताको मत परिणाम निर्धारणमा प्रभावकारी हुने आकलन गरिएको छ।
औपचारिक प्रचारप्रसार सुरु हुन अझै केही दिन बाँकी रहे पनि दलहरू भित्री रूपमा संगठन परिचालन, मतदाता भेटघाट र एजेन्डा प्रस्तुतीकरणमा सक्रिय छन्। स्थानीयस्तरमा एमालेका उप्रेती र कांग्रेसका पाण्डेबीच मुख्य प्रतिस्पर्धा देखिए पनि रास्वपाकी डाँगीको उपस्थितिले चुनावी समीकरण रोचक बनेको विश्लेषण गरिएको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा झापा–१ मा चुनावी माहोल थप तात्ने संकेत देखिएकोछ । जितको नजिकमा आफू पुगेको बताउने एमाले नेता उप्रेती कांग्रेस नेता केशव पाण्डे तथा नयाँ अनुहारकी कान्छी पूर्व सांसद निशा डाँगीको अग्नि परीक्षा भने आउने फागुन २१ गते को मतगणनापछि स्पष्ट हुने देखिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ