+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेशमा माओवादी र एकीकृत समाजवादीसहित चारदलका ६ मन्त्री बर्खास्त

राजकुमार ओली
२०८१ असार २२, शनिबार

२२ असार, जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी  गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्त सहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत् राखेका छन् ।

२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिंद‌ैछन् ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको छ । त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ ।

शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

बर्खास्त गर्नु अघि चारदलका मन्त्रीलाई मुख्यमन्त्री सिंहले राजीनामा दिन भनेका थिए । तर राजीनामा ढिलो आउने तथा विश्वासको मत लिनुपर्ने दबाबको कारण उनले बर्खास्त गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार ओली

ट्रेन्डिङ