राजकुमार ओली,काठमाडौं — २०८२ सालको मत परिणामको आधारमा गरिएको अनुमानित सिट बाँडफाँड अनुसार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको सिट जोड्दा रास्वपाले १८३ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर ११० समानुपातिक सिटको बाँडफाँड गर्दा रास्वपाले ५२.४३ प्रतिशत मतका आधारमा ५८ सिट पाउने देखिएको छ। त्यसैगरी नेपाली कांग्रेसले १७.६२ प्रतिशत मतका आधारमा १९ सिट, नेकपा एमालेले १५ प्रतिशत मतका आधारमा १७ सिट, नेकपाले ७.६६ प्रतिशत मतका आधारमा ८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
यस्तै श्रम संस्कृति पार्टीले ३.४ प्रतिशत मतका आधारमा ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३.३ प्रतिशत मतका आधारमा ४ सिट समानुपातिक प्रणालीबाट पाउने देखिएको छ। समानुपातिकतर्फ कुल ११० सिट बाँडफाँड गरिएको छ।
प्रत्यक्षतर्फ प्राप्त सिटसँग जोड्दा रास्वपाले १२५ प्रत्यक्ष र ५८ समानुपातिक गरी कुल १८३ सिट प्राप्त गर्ने देखिन्छ। नेपाली कांग्रेसले १८ प्रत्यक्ष र १९ समानुपातिक गरी ३७ सिट, एमालेले ९ प्रत्यक्ष र १७ समानुपातिक गरी २६ सिट प्राप्त गर्ने अनुमान छ।
त्यस्तै नेकपाले ८ प्रत्यक्ष र ८ समानुपातिक गरी १६ सिट, श्रम संस्कृति पार्टीले ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सिट, राप्रपाले १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ सिट प्राप्त गर्ने देखिएको छ। एक स्वतन्त्र उम्मेदवार पनि विजयी हुने अनुमान गरिएको छ।
यसरी प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कुल २७५ सिटको संरचनामा नयाँ राजनीतिक शक्ति बलियो रूपमा उदाएको चित्र देखिएको छ।