राजकुमार ओली
विराटनगर, चैत ११(बाटिका अनलाइन) कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (ट्रेल ब्रिज ट्रेकिङ डेभलपमेन्ट प्रोजेक्ट—TTDP) को तेस्रो परियोजना निर्देशक समिति बैठक आज सम्पन्न भएको छ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो।
नेपाल र स्विट्जरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको उक्त परियोजना कोशी प्रदेशका आठ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ। Helvetas Nepal को प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजनाले स्थानीय तहसँग सहकार्य गर्दै कार्यक्रम अघि बढाइरहेको छ।
परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु रहेको छ। कुल दुई अर्ब ४५ करोड रुपैयाँभन्दा बढी लागतको परियोजना २०८५ साउनसम्म सञ्चालन हुने जनाइएको छ।
परियोजना अन्तर्गत चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेका छन्। करिब ४०० किलोमिटर पदमार्ग निर्माण लक्ष्य राखिएकोमा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ। गत वर्ष २० किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएकोमा यस वर्ष १३२ किलोमिटर निर्माण कार्य भइरहेको छ भने आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना रहेको छ।
हालसम्म परियोजनामार्फत ३३ हजार दिन बराबरको रोजगारी सिर्जना भएको जनाइएको छ भने परियोजना अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ। सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता अभिवृद्धि गरिँदै स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारिएको छ।
भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन, बजारिकरण, ब्रान्डिङ तथा नीति सुधारका क्षेत्रमा पनि परियोजनाले उल्लेखनीय काम गरिरहेको छ। मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकलाको अभिलेखीकरण तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएको छ।
बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्ययोजना पारित गर्नुका साथै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले परियोजनाले प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।