राजकुमार ओली। दमक । झापाको दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रका कुखुरा नष्ट गर्ने तथा कुखुराजन्य सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
दमक नगरपालिका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट बर्ड फ्लु पुष्टि भएको नगरपालिकाले जनाएको छ । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावतमा रोक लगाइएको छ ।
नगरप्रमुख रामकुमार थापाका अनुसार सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको छ । “सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छौँ,” उनले भने । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका सम्पूर्ण कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको जानकारी दिइन् । उनका अनुसार दमक–१० स्थित देवेन्द्र प्रसाईको फार्ममा रहेका करिब २० हजार कुखुरामध्ये पहिलो चरणमा करिब १५ हजार कुखुरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय भद्रपुरमा बसेको आकस्मिक बैठकले बर्ड फ्लु नियन्त्रणका लागि कडा कदम चाल्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईको अध्यक्षतामा बसेको बैठकले संक्रमित क्षेत्रका साथै झापाका अन्य पालिकामा समेत कुखुराजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार दमकबाट बाहिरिने तथा भित्रिने कुखुरा, मासु र अण्डामा पूर्ण रोक लगाइएको छ भने सीमा नाकामा निगरानी कडा पारिएको छ ।
यसैबीच, प्राविधिक टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शङ्कास्पद कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गरिरहेको छ । दमक–१० मा साना–ठूला गरी करिब २५ कुखुरा फार्म सञ्चालनमा रहेका छन् ।
नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । साथै मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ । प्रभावित किसानको क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा पठाइने र राहतका लागि पहल गरिने जनाइएको छ ।