राजकुमार ओली,, १८ चैत(बार्टीका अनलाइन)
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशमा मौसम अस्थिर बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात भइरहेको छ ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपात भइरहेको छ भने केही स्थानमा मौसम थप सक्रिय बन्ने संकेत देखिएको छ । विशेषगरी हिमाली भेगमा मौसमको प्रभाव बढी देखिएकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ ।
आज दिउँसो प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ । ती क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र उच्च भू–भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहने भए पनि मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुले समेत प्रभाव पार्दा पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक मौसम परिवर्तन भइरहने सम्भावना हुन्छ । यसले गर्दा विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षाको मात्रा बढ्न सक्ने आँकलन गरिएको छ ।
आज रातिको अवस्थामा पनि कोशी प्रदेशका हिमाली भेगमा बदली कायम रहनेछ । एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराई क्षेत्रमा भने मौसम क्रमशः सुधार हुँदै जाने र मुख्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिक, पर्यटक तथा यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ । हिमपात तथा वर्षाका कारण सडक अवरुद्ध हुने, हवाई उडान प्रभावित हुने तथा दैनिक जनजीवनमा असर पर्ने सम्भावना भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।
यसैगरी, मेघगर्जन र चट्याङका कारण जोखिम बढ्न सक्ने भएकाले खुला स्थानमा बस्ने, अग्ला रुख वा संरचनाको नजिक नजान र सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ । कृषकहरूलाई पनि बाली तथा पशुपालनमा सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी गर्न सुझाव दिइएको छ ।
महाशाखाले मौसमको पछिल्लो अवस्थाबारे नियमित जानकारी लिँदै सतर्कता अपनाउन सर्वसाधारणलाई पुनः आग्रह गरेको छ ।