मेचीनगर, ६ चैत (पूर्व खबर) । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नदीजन्य पदार्थ उत्खनन कार्य तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का लगाएको छ।
नगरपालिकाका अनुसार मेची, निन्दा तथा हडिया–टिमाई खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खननका लागि छुट्टाछुट्टै प्याकेज निर्धारण गरिएको हो। आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले मेची खोलालाई प्याकेज–१, निन्दा खोलालाई प्याकेज–२ र हडिया–टिमाई खोलालाई प्याकेज–३ का रूपमा ठेक्का लगाइएको जानकारी दिए।
प्याकेज–१ अन्तर्गत मेचीनगर–१, ४ र १५ का विभिन्न क्षेत्रबाट २९ हजार ९९६ दशमलव ७ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि रु ६७ लाख ५२ हजार ४५ दशमलव ४९ मा ठेक्का दिइएको छ।
त्यसैगरी प्याकेज–२ अन्तर्गत मेचीनगर–३, ७, ८, १० र १५ का निन्दा खोलाका विभिन्न स्थानबाट २३ हजार ९१५ दशमलव ५१ घनमिटर उत्खननका लागि रु ५३ लाख ६६ हजार २३५ दशमलव ७५ मा ठेक्का सम्झौता गरिएको छ।
प्याकेज–३ अन्तर्गत हडिया र टिमाई खोलालाई ‘क’ र ‘ख’ उप–प्याकेजमा विभाजन गरिएको छ। ‘क’ तर्फ ५ हजार ८ दशमलव ३६ घनमिटर र ‘ख’ तर्फ १६ हजार ९५० दशमलव १९ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि कूल रु ४९ लाख ३२ हजार ७९१ दशमलव १८ (मूल्य अभिवृद्धि कर बाहेक) मा ठेक्का दिइएको कार्कीले बताए।
उत्खनन कार्य मेसिनरी उपकरण तथा श्रममूलक प्रविधिबाट गर्न पाइनेछ। प्रतिवेदनमा उल्लेखित लम्बाइ, चौडाइ र गहिराइभन्दा बाहिर नजाने गरी ठूला तथा साना उपकरण प्रयोग गरी काम गर्नुपर्ने शर्त राखिएको छ।
नगरपालिकाले जनाएको अनुसार स्थलगत अध्ययन, अवलोकन तथा अघिल्लो वर्षको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा ठेक्का प्रक्रिया अघि बढाइएको हो। साथै कोशी प्रदेश आर्थिक ऐन २०८१/८२ अनुसार दर निर्धारण गरी संकलन शुल्क लागू गरिएको छ।
तीनवटै प्याकेजका लागि कूल रु एक करोड ९७ लाख ४ हजार २७२ दशमलव ४२ मा वार्षिक ठेक्का लागेको नगरपालिकाले जनाएको छ।
गत वर्ष सिलीगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा एशियन हाइवे अन्तर्गत काँकरभिट्टा–लौकही सडक निर्माणका लागि पनि नगरपालिकासँग नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लिइएको थियो।