राजकुमार ओली बिर्तामोड, २९ फागुन (बाटिका अनलाइन) : प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा प्रशासनिक संयन्त्र निर्वाचन तयारीमा व्यस्त रहेको मौका पारेर रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा गरिएको अतिक्रमण प्रयासलाई प्रशासनले असफल बनाएको छ । वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरू डिभिजन वन कार्यालय रौतहट र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो ।
डिभिजन वन कार्यालयका अनुसार केही व्यक्तिहरूले निर्वाचनको समयमा सरकारी निकायको निगरानी कम हुने अनुमान गर्दै वन क्षेत्रभित्र छाप्रा र टहराहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका थिए । सूचना प्राप्त हुनासाथ वन कार्यालयले सुरक्षाकर्मी परिचालन गरी वनको जमिनमा बनाइएका सबै संरचना हटाएको जनाएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले निर्वाचनको व्यस्तताको मौका छोपेर वन अतिक्रमण गर्ने प्रयास देखिएकाले तत्काल कारबाही गरिएको जानकारी दिए । उनका अनुसार वन क्षेत्रमा अनधिकृत रूपमा घर टहरा निर्माण गरी जग्गा ओगट्ने प्रयास गरिएको पाइएपछि संयुक्त टोली परिचालन गरेर संरचनाहरू भत्काइएको हो ।
“निर्वाचन कार्यमा कर्मचारीहरू विभिन्न ठाउँमा खटिएका बेला वन क्षेत्रमा संरचना खडा गरेर अतिक्रमण गर्ने नियत देखियो,” उनले भने, “सूचना प्राप्त हुनासाथ टोली खटाएर सबै अवैध संरचना हटाएका छौँ ।”
वन कार्यालयका अनुसार अतिक्रमणकारीहरूले काँचो टाँटी र बाँस प्रयोग गरेर अस्थायी घर टहराहरू निर्माण गरेका थिए । केही संरचनामा मानिसहरू बस्न सुरु गरिसकेका थिए भने केही ठाउँमा केवल जमिन ओगट्ने उद्देश्यले मात्रै छाप्राहरू बनाइएको थियो ।
अतिक्रमण हटाउने कार्यमा डिभिजन वन कार्यालय रौतहटको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सव–डिभिजन वन कार्यालय तथा रंगपुर साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरू सहभागी थिए । संयुक्त टोलीले वन क्षेत्रभित्र बनाइएका सबै सात वटा संरचना पूर्ण रूपमा हटाएको जनाएको छ ।
वन कार्यालयका अधिकारीहरूका अनुसार बेल्डी क्षेत्र वन अतिक्रमणको दृष्टिले संवेदनशील मानिन्छ । यसअघि पनि पटक–पटक सो क्षेत्रमा वनको जमिन मिचेर घर बनाउने प्रयास हुँदै आएको छ । कतिपय पुराना संरचनाहरूमा मानिसहरू बसोबास गरिरहेको अवस्था रहेकाले वन व्यवस्थापनमा चुनौती थपिएको वन कार्यालयका कर्मचारीहरू बताउँछन् ।
वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वन क्षेत्र सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी हो ।
वन अधिकृतहरूले निर्वाचनको समयमा मात्र नभई अन्य समयमा पनि वन क्षेत्र अतिक्रमण गर्ने प्रयास भएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । वन क्षेत्रमा अनधिकृत रूपमा घर टहरा निर्माण गरेको पाइएमा कुनै पनि बेला हटाइने र संलग्न व्यक्तिलाई वन ऐन बमोजिम कारबाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।
प्रशासनले सर्वसाधारणलाई कसैको बहकाउमा लागेर वा राजनीतिक आडमा वनको जमिन अतिक्रमण नगर्न आग्रह गरेको छ । वन क्षेत्र ओगट्ने उद्देश्यले अस्थायी वा स्थायी संरचना बनाउने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ ।
डिभिजन वन कार्यालयका अनुसार रौतहट जिल्लामा पछिल्ला केही वर्षदेखि वन अतिक्रमणको समस्या बढ्दो क्रममा छ । चन्द्रपुर नगरपालिकाका गैडाटार, जुडिबेला, बागमती, पौराई र गुजरा क्षेत्रसहित बृन्दावन नगरपालिकाका विभिन्न स्थानमा पनि वनको जमिन अतिक्रमणका घटना देखिँदै आएका छन् ।
तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा जिल्लामा करिब तीन सय ४२ हेक्टर वन क्षेत्र नयाँ अतिक्रमणको चपेटामा परेको छ । जिल्लामा कुल २९ हजार चार सय ३६ दशमलव ३३० हेक्टर राष्ट्रिय वन क्षेत्र रहेको वन कार्यालयले जनाएको छ ।
वन कार्यालयले वन अतिक्रमण नियन्त्रणका लागि स्थानीय तह, सुरक्षाकर्मी तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइने जनाएको छ । साथै वन क्षेत्र संरक्षणका लागि स्थानीय समुदायको सहभागिता र सचेतना आवश्यक रहेको पनि कार्यालयले उल्लेख गरेको छ ।