+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोशी खोलाको डाइभर्सन बगाउँदा पूर्व आउने यातायात अवरुद्ध

बाटिका अनलाइन
२०८२ चैत्र १४, शनिबार

काठमाडौँ, १४ चैत्र (बाटिका अनलाइन)
गएराति रोशी खोला मा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले अस्थायी संरचना बगाएपछि काठमाडौंबाट पूर्वतर्फ आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन्। हाल राजमार्गमा यातायात सेवा ठप्प रहेको प्रहरीले जनाएको छ।
गत वर्षको बाढीले क्षति पुर्‍याएपछि उक्त राजमार्ग पुनर्निर्माण भइरहेको थियो। सोही क्रममा रोशी खोलाका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो। तर, गएरातिको बाढीले ती सबै डाइभर्सन बगाएपछि अवस्था झन् जटिल बनेको हो।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। “कतिपय सवारीसाधन बाटोमै रोकिएका छन्,” उनले भने।
यसैबीच, रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेशद्वार मानिने नेपालथोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी डाइभर्सन समेत बगाएको छ, जसका कारण सो क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
बाढीका कारण यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् भने स्थानीयबासीलाई आवतजावतमा ठूलो कठिनाइ भएको छ। सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गरी वैकल्पिक व्यवस्था तथा सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
सडकको अवस्था:
हाल बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। अस्थायी डाइभर्सन बगाएकाले तत्काल सवारी सञ्चालन सम्भव छैन। सडक खुलाउनका लागि नयाँ डाइभर्सन निर्माण वा मर्मत आवश्यक पर्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ