+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुद्ध शान्तिमा चितुवा हत्या प्रकरण: हत्यारा खोज्दै टोली झापामा

बाटिका अनलाइन
२०८२ चैत्र २१, शनिबार

राजकुमार ओली, २१ चैत (बाटिका अनलाइन)
— झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई शिविर नजिकै गत हप्ता भएको दुर्लभ चितुवाको हत्या प्रकरणमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको छ। डिभिजन वन कार्यालय झापाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा विशेष अनुसन्धान टोली गठन गरी घटनामा संलग्नहरूको पहिचान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
गत चैत ८ गते स्थानीय मकैबारी क्षेत्रमा देखिएको चितुवालाई नियन्त्रणमा लिन खटिएको टोलीको उपस्थितिमै करिब १५ सयको उत्तेजित भीडले कुटपिट गरी मारेको घटनाले वन्यजन्तु संरक्षण तथा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। उक्त चितुवा आसपासको बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित बनेका थिए भने त्यसपछि भीड एक्कासि आक्रामक बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गुहयारी यादवका अनुसार घटनाको भिडियो तथा तस्बिरहरू सङ्कलन गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको छ। “घटनास्थलमा उपस्थित व्यक्तिहरूले खिचेका दृश्य, सामाजिक सञ्जालमा सार्वजनिक सामग्री तथा स्थानीय सूचनाको आधारमा अनुसन्धान अगाडि बढाइएको छ,” उनले भने, “वन्यजन्तु अपराधमा हदम्याद नहुने भएकाले दोषी पहिचान भएमा जुनसुकै समयमा कारबाही गर्न सकिन्छ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा उजुरी परेपछि केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइले समेत सक्रियता बढाएको छ। विभागले दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिँदै सम्बन्धित निकायलाई अनुसन्धानमा सहकार्य गर्न आग्रह गरेको छ। सोहीअनुसार बहुपक्षीय टोलीले घटनाको विस्तृत छानबिन गरिरहेको जनाइएको छ।
अनुसन्धान टोलीका एक सदस्यका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि डिजिटल प्रविधिको समेत प्रयोग भइरहेको छ। “भिडियो फुटेजको विश्लेषण, अनुहार पहिचान (फेस रिकग्निसन) प्रविधि र स्थानीय सूचनालाई आधार बनाएर संलग्नहरूको पहिचान गर्ने प्रयास भइरहेको छ,” ती अधिकारीले भने, “पहिचान भएका व्यक्तिहरूमाथि क्रमशः कानुनी प्रक्रिया अघि बढाइनेछ।”
उक्त घटनामा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ। घटनास्थलमा प्रहरी टोली खटिएको र माइकिङ गरी भीड नियन्त्रणको प्रयास गरिएको भए पनि ठूलो संख्यामा उपस्थित भीडलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका एक अधिकारीका अनुसार घटनास्थलमा सीमित जनशक्ति रहेको र भीड अत्यधिक आक्रामक बनेकाले तत्काल नियन्त्रण सम्भव नभएको हो।
“हामीले भीडलाई सम्झाउने, तितरबितर पार्ने प्रयास गरेका थियौं,” ती अधिकारीले भने, “तर भीड अचानक हिंस्रक बनेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो।” उनले भविष्यमा यस्ता घटनामा थप समन्वय र तयारी आवश्यक रहेको पनि स्वीकार गरे।
घटनास्थलमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको अवस्थामा भीडले हस्तक्षेप गरी कुटपिट सुरु गरेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार चितुवा बिच्किएर केही मानिसतर्फ जाँदा भीड थप आक्रामक बनेको र अन्ततः नियन्त्रणमा आइसकेको अवस्थामा समेत निर्ममतापूर्वक हत्या गरिएको थियो।
वन्यजन्तु विज्ञहरूका अनुसार यस्तो घटना मानव–वन्यजन्तु द्वन्द्वको ज्वलन्त उदाहरण हो। उनीहरूले जनचेतना अभाव, डर र गलत सूचना फैलिँदा भीड हिंसात्मक बन्ने सम्भावना बढ्ने बताउँछन्। यस्ता अवस्थामा सुरक्षाकर्मी र प्राविधिक टोलीलाई समयमै सहयोग नगर्दा ठूलो क्षति हुने उनीहरूको भनाइ छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार चितुवा जस्तो संरक्षित वन्यजन्तु मार्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। कानुनविद्हरूका अनुसार सामूहिक रूपमा अपराध गरिएको अवस्थामा संलग्न सबैलाई दोषको आधारमा सजाय हुन सक्छ।
यस घटनाले वन्यजन्तु संरक्षण प्रणाली, भीड नियन्त्रण क्षमता र स्थानीय तहमा जनचेतनाको अवस्थामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएको छ। अनुसन्धान टोलीले दोषी पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया जारी राखेको जनाउँदै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ