काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पछिल्लो निर्वाचनमा आफू र पार्टीले अपेक्षा गरेजस्तो मत परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामा अन्तिम फैसला जनताकै हुने भन्दै जनताले दिएको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका हुन्।
उनले लेखेका छन्, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
अध्यक्ष ओलीले कठिन परिस्थितिका बाबजुद पनि सूर्य चिन्हमा मतदान गरी पार्टीलाई साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले मतदाताको विश्वास नै पार्टीको शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनतामाझ रहेर जनताकै हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ,” ओलीले भनेका छन्।